काठमाडौं । वालुवाटारस्थित प्रधानमन्त्रीको निजी निवासको निर्माण कार्य सम्पन्न भएको छ । अत्याधुनिक सेवा सुविधा भएको निजी निवासमा सुरक्षाको दृष्टिकोणले बङ्करसमेत निर्माण गरिएको छ ।
सहरी विकास तथा भवन निर्माण विभागले बालुवाटारमा प्रधानमन्त्रीका लागि बंकरसहितको भूकम्प प्रतिरोधी भवन निर्माण सम्पन्न गरेको हो ।
विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक दिलिपशेखर श्रेष्ठ अनुसार प्रधानमन्त्री निजी निवास निर्माण अन्तर्गत प्राइभेट ब्लक (आवास भवन) निर्माण सम्पन्न भएको हो ।
प्रधानमन्त्री निजी निवास अन्तर्गत प्राइभेट र पब्लिक ब्लक (सार्वजनिक ब्लक) निर्माण गरिनेमा हालसम्म प्रइभेट ब्लकको काम सम्पन्न भएको उनले बताए । अहिले पब्लिक ब्लकको निर्माण भइरहेको छ ।
प्रधानमन्त्रीको प्राइभेट ब्लक १३ हजार ५०० वर्गफिट क्षेत्रफलमा बनाइएको छ भने पब्लिक ब्लक २७,००० वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको छ ।
श्रेष्ठका अनुसार प्राइभेट ब्लक र पब्लिक ब्लक दुवै गरी आयोजना निर्माणको कुल लागत ३३ करोड ८० लाख ८३ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
कस्तो छ भवन ?
प्रधानमन्त्री निजी आवास २२ कोठाको निर्माण भएको छ । तीन तले प्राइभेट ब्लकको पहिलो तलामा भान्सा, भोजनकक्ष र लबी बनाइएको छ । दोस्रो तलामा शयनकक्षहरू तथा बैठककोठा, प्रधानमन्त्रीका सुरक्षाकर्मीका लागि पनि शयनकक्ष बनाइएको छ । निर्देशक श्रेष्ठका अनुसार माथिल्लो तलामा दुईवटा पाहुनाकोठा, एउटा शयनकक्ष, एउटा लबी, भोजनकक्ष, पूजाकोठा, हल तथा बरन्डाहरू रहेका छन् ।
उक्त भवन नेपाली पूरानो शैली झल्किने गरी निर्माण भएको कार्यालयले जनाएको छ । भवनमा काठका बुट्टेदार खम्बा तथा आँखीझ्यालहरू छन् भने भुइँमा र बरन्डामा नेवारी इँटा डाचिअपा प्रयोग गरिएको छ ।
त्यस्तै, २७,००० वर्गमिटर क्षेत्रफलमा बनिरहेको पब्लिक ब्लक पनि तीन तलाकै हुनेछ । सो भवनमा प्रधानमन्त्रीले स्वदेशी तथा विदेशी पाहुनाका लागि भेटघाट कक्ष बनाइएको छ भने मन्त्रिपरिषद् बैठकका लागि छुट्टै कोठा बनाइने छ । त्यस्तै, पत्रकारहरुका लागि मिडियाकक्ष पनि निर्माण गरिने छ ।
निजी आवास भवन निर्माण पूरा भएसँगै अब वास्तु पूजा सकेर प्रधानमन्त्री शेरबहादुर देउवा उक्त भवनमा सर्ने जनाइएको छ ।
अब कति काम बाँकी छ ?
आयोजना अन्तर्गत हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भइसकेको छ भने वित्तीयतर्फ ६४ प्रतिशत प्रगति भएको आयोजनाकी निशा पाण्डेले जानकारी दिइन् ।
सिभिल स्ट्रक्चर निर्माणको काम शतप्रतिशत पूरा भएको छ । कोर्टयार्ड मा ट्रस इष्टेसन वर्क सम्पन्न भइ रुफटाइल, वाटरप्रुफ मेम्ब्रेनको काम सम्पन्न भएको छ । हाल प्रधनमन्त्री निजी निवास निर्माण मात्र सम्पन्न भएको हो । थप सार्वजनिक भवन निर्माण पूरा हुन बाँकी रहेको छ । चाँडै उक्त भवन समेत पूरा गरी हस्तान्तरण हुने विभागले जनाएको छ ।
दाची ब्रीक वर्कको काम ८० प्रतिशत पूरा भएको छ । अझै यस अन्तर्गत २० प्रतिशत काम पूरा गर्न बाँकी रहेको छ । एचभीएसीको ७५ प्रतिशत कार्य सम्पन्न भएको छ । यसको २५ प्रतिशत काम अझै पूरा हुन बाँकी रहेको देखिन्छ । विद्युतीय काम, पाइप र जडानका काम हालसम्म ५०÷५० प्रतिशत सम्पन्न भएको छ । उक्त कार्यको ५० प्रतिशत काम पूरा हुन बाँकी नै रहेको छ ।
पायर पाइटिङको काम ९० प्रतिशत पूरा भएको छ । फ्लोरिङको काम समेत २० प्रतिशत बाँकी रहेको छ । आइपीएस फ्लोरिङको काम ९० प्रतिशत बाँकी रहेको छ । काठको काम ९० प्रतिशत भए पनि १० प्रतिशत बाँकी रहेको विभागले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।