add

इन्धनको मूल्य फिर्ता लिन चाैतर्फी माग : निगम भन्छ– 'मासिक ५ अर्ब बढी घाटा भएकाले मूल्य फिर्ता लिन सकिँदैन'






ActPro Nepal

|

३० कार्तिक, २०७८

|
577

काठमाडौं ।  नेपाल आयल निगम र संयुक्त विद्यार्थी संगठनहरुबीचको वार्ता असफल भएको छ। निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नगरेसम्म आन्दोलन  थप चर्काउने विद्यार्थी नेताहरुले बताएका छन्।

सोमबार दुबै पक्षबीच भएको वार्ता पछि संवाद डबलीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले नेपाल आयल निगमले बारम्बार पेट्रोलियम पदार्थको मूल्य समायोजनका नाममा जनताको ढाड सेकेको बताउँदै पछिल्लो समयमा बढाइएको मूल्य नघटाए कडा आन्दोलन गर्ने चेतावनी दिएकी छन्। अत्याधिक मूल्यवृद्धि गर्दा पनि घाटा भयो भन्ने कुरा हास्यास्पद भएको बताउँदै अध्यक्ष सिंहले भनिन्, “भारतबाट ८३ रुपैयाँमा खरिद गरेर नेपालमा १ सय ३६ मा बिक्री गर्दा पनि अझै घाटा भयो रे कसले पत्याउने ?”

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले साेमबार मन्त्रालयमा भएको वार्तामा आफूहरुले निगम व्यवस्थापन समिति असफल भएकोले बर्खास्त र वृद्धि भएको मूल्य खारेज गर्नुपर्ने माग राखेको जानकारी दिइन्।

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले व्यक्ति मोटाउने र जनता चुस्ने उपमाको रुपमा आयल निगम भएको बताए। आफ्नो संगठन सम्पूर्ण विद्यार्थी संगठनहरुसँग हातेमालो गरेर वृद्धि भएको मूल्य खारेजी अभियानमा लाग्ने बताए।

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आफ्नो पार्टी पनि सत्तामा भएपनि उसले गर्ने राम्रो कार्यलाई साथ र जनतालाई पेल्ने कार्यमा विरोध गर्ने धारणा राखे। उनले नेपाल आयल निगममा व्यापक भ्रष्टाचार भइरहेको र त्यसलाई छानविन गर्नु पर्ने पनि बताए। अध्यक्ष पराजुलीले मूल्य फिर्ता नभए कडा भन्दा कडा आन्दोलन गर्ने बताए।

कार्यक्रममा निगमका प्रवक्ता विनितमणी उपाध्यायले पेट्रोलियमको मूल्यवृद्धि नगरेर समायोजन गरेको र निगम चरम संकटमा पर्दै गएकाले आफूहरुले एक महिनामा २ पटक मूल्य समायोजन गर्नु परेको बताए। पहिले १० रुपैयाँसम्म मूल्य घटाएर मूल्य समायोजनको दृष्टान्त दिँदै उपाध्यायले भने, “वृद्धि गरेको विषयलाई मात्रै नभएर विगतमा ठूलो अंकले मूल्य घटाएको विषयलाई पनि हेरिदिन आग्रह गर्दछु।”

आयल निगम घाटामा भएको विषय त दुनियाँको कुनै पनि ठाउँमा गएर पुष्टि हुने र पेट्रोलियम पदार्थ स्वदेशी नभएर पूर्णरुपले विदेशमा निर्भर रहनु पर्ने भएकाले आफूहरुको काबुमा नरहेको समेत प्रवक्ता उपाध्यायले बताए। उनले भने, “यही अवस्थामा हामी घाटामा रहिरहने हो भने निगम टाट पल्टेर पाँच दशक बढी लामो इतिहास बोकेको संस्था सकिन बेर लाग्ने छैन।”

कार्यक्रममा उपाध्यायले अहिले पेट्रोलमा १७, डिजेलमा १३ र एलपी ग्याँसमा ६ सय ५७ रुपैँयाँ घाटा भइरहँदा मासिक ५ अर्ब २० कारोड घाटा भइरहेकाले मूल्य समायोजनको विकल्प नरहेको बताएका छन्।

आन्दोलनरत विद्यार्थी संगठनका नेताहरु र निगम पदाधिकारीबीच दिउँसो उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा तीन घण्टा मालो बार्ता भएको थियो । तर, दुबै पक्ष आआफ्नो अडानका कारण वार्ता सफल हुन सकेन।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.