add

एमालेको राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा






ActPro Nepal

|

१५ असोज, २०७८

|
1725

काठमाडौ । नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्न ऐतिहासिक मानिएको नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन आजदेखि तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजना हुँदैछ।

अन्तरविरोध र अस्थिरताका कारण सरकारको नेतृत्वबाट बाहिरिएर प्रमुख प्रतिपक्षी भएको संसद्को ठूलो दल एमालेले करिब छ हजार प्रतिनिधिलाई सहभागी गराएर गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्न लागेको हो। आगामी मङ्सिरको दोस्रो साताका लागि नेतृत्व चयनका लागि पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशनलाई समसामयिक राजनीतिक दलहरुमध्ये मौलिक विशेषताको भेला मानिएको छ। एमालेको गत २०७१ असारमा नवौँ महाधिवेशन भएको थियो।

महाधिवेशनको उद्घाटन आज पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको विधान महाधिवेशन मूल व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

उद्घाटन सत्रलाई पार्टी अध्यक्ष ओलीलगायतका नेताहरुले सम्बोधन गर्नेछन्। उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ। 

महाधिवेशनको दोस्रो दिन असोज १६ गते समूह छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ। तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ।

महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त गर्न पार्टी केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक, शेरबहादुर तामाङ सचिव र केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरिएको थियो।

विधान महाधिवेशनमा पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका सङ्घ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसङ्गठन र पेशागत सङ्गठनबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका सङ्घ सङ्गठनबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्य प्रतिनिधि रहनेछन्। 

महाधिवेशन सम्पन्न गर्न पार्टी निकट अनेरास्ववियु, युवासङ्घ नेपाल, जिफन्ट र खेलकूद महासङ्घबाट २०० को सङ्ख्यामा स्वयंसेवकको व्यवस्था गरिएको छ। कोरोना महामारीकै अवस्था भएकाले त्यसप्रति संवेदनशील हुँदै मास्क, सेनिटाइजरको प्रयोग र थर्मलगनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.