काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूले धमाधम गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरिरहेका छन् ।
सूचीकृत कम्पनीहरूले एक आर्थिक वर्ष सकिएको ६ महिना भित्र बितेको आवको वार्षिक साधरण सभा सम्पन्न गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार पुस भित्रै साधरण सभा सम्पन्न गर्न कम्पनीहरूले धमाधम लाभांश घोषणा गरेका हुन् ।
नेप्सेमा हाल १३ क्षेत्रका २६४ वटा कम्पनी सूचीकृत छन् । तीमध्ये हाल (पुस २४ गते)सम्म ७८ कम्पनीले सेयरधनीलाई प्रतिफल दिने घोषणा गरेका छन् । त्यस्तै, ५० बढी कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन् । बाँकी कम्पनीले भने लाभांश दिने/नदिने घोषणा गर्न बाँकी छ ।
हालसम्म सूचीकृत २९ प्रतिशत कम्पनीले मात्रै सेयरधनीलाई लाभांश दिएका छन् । त्यस्तै, आधा कम्पनीले लाभांश नदिने घोषणा गरेका छन् भने २० प्रतिशतको घोषणा हुनै बाँकी छ । एक्चुरी नसकिएका कारण अधिकांश बीमा कम्पनीले लाभांश घोषणा गरेका छैनन्।
गत आवको नाफाबाट सेयरधनीलाई ११ वाणिज्य बैंक, ८ विकास बैंक, ३ फाइनान्स कम्पनी, १८ लघुवित्त, ३ होटल, २१ हाइड्रोपावर, ६ उत्पादनमूलक, ५ लगानी समूह, दुई जीवन बीमा र एउटा अन्य क्षेत्रको कम्पनीले लाभांश दिने घोषणा गरेका छन् ।
गत आवको नाफाबाट लाभांश घोषणा गरेका ५० बढी कम्पनीले साधरण सभा गरिसकेको छन् भने बाँकीले पनि पुस भित्रै गर्ने घोषणा गरेका छन् । लाभांश घोषणा गरेका मध्ये नेष्डो समृद्धि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र युनाइटेड इदी मार्दी हाइड्रोपावरको मात्रै बुकक्लोज हुन बाँकी छ । अझै यी कम्पनीको सेयर किन्दा प्रस्तावित लाभांश पाइन्छ ।
गत वर्षको नाफाबाट युनिलिभर नेपालले सबैभन्दा धेरै १७१४ प्रतिशत लाभांश घोषणा गरेको छ भने श्री इन्भेटमेन्ट फाइनान्सले सबैभन्दा कम १.९६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंक मध्ये गत वर्षको नाफाबाट ११ बैंकले सेयरधनीलाई लाभांश दिएका छन् भने ६ बैंकले नदिने घोषणा गरेका छन् । ३ बैंकको भने घोषणा हुन बाँकी छ ।
वाणिज्य बैंकहरूले यस वर्ष औसतमा ९.२२ प्रतिशत लाभांश दिएका छन् । जसमा विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्डले सबैभन्दा धेरै २५.५० प्रतिशत लाभांश दिएको छ । त्यस्तै, एभरेष्ट, नबिल, नेपाल एसबीआइ र कृषि विकास बैंकले १० प्रतिशत बढी लाभांश दिएका छन् ।
कुमारी, हिमालयन, माछापुच्छ्रे, एनएमबी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नदिने घोषणा गरेका छन् । नेपाल, एनआइसी एशियाको भने घोषणा हुन बाँकी छ ।
त्यस्तै, नेप्सेमा सूचीकृत १७ विकास बैंक मध्ये ८ वटाले मात्रै सेयरधनीलाई लाभांश दिएका छन् । विकास बैंकले औसतमा ७.३६ प्रतिशत लाभांश दिएका छन् । जसमा कामना सेवाले सबैभन्दा धेरै १२ प्रतिशत लाभांश दिएको छ ।
सूचीकृत १७ फाइनान्स मध्ये जम्मा ३ वटाले मात्रै लाभांश दिएका छन् । झण्डै १ दर्जन फाइनान्सले लभांश नदिने घोषणा गरेका छन् भने केहीको घोषणा हुन बाँकी छ । अन्य क्षेत्रका कम्पनीके तुलनामा फाइनान्स कम्पनीले दिने प्रतिफल न्यून रहे पनि सेयर मूल्य भने उच्च छ ।
सूचीकृत ५० लघुवित्त मध्ये १८ लघुवित्तले सेयरधनीलाई लाभांश दिएका छन् । करिब २ दर्जन लघुवित्तले सेयरधनीलाई निराश बनाएका छन् अर्थात् लाभांश नदिने घोषणा गरेका छन् । त्यस्तै, करिब १ दर्जन लघुवित्तको लाभांश घोषणा हुन बाँकी छ ।लघुवित्तहरूले औसतमा १२.८६ प्रतिशत लाभांश दिएका छन् भने अधिकतम १५ प्रतिशतसम्म दिएका छन् ।
नेप्सेमा सबैभन्दा धेरै ९१ वटा कम्पनी सूचीकृत भएको हाइड्रोपावर क्षेत्रका भने एकचौथाई कम्पनीले मात्र सेयरधनीलाई प्रतिफल दिएका छन् । ४० बढी हाइड्रोपावरले लाभांश नदिने घोषणा गरको छन् भने साढे २ दर्जन बढीको दिने/नदिने घोषणा हुनै बाँकी छ । सेयर बजारमा तीव्र चलखेल हुने भए पनि अधिकांश हाइड्रोपावरको प्रतिफल भने शून्य छ ।
लगानीकर्तालाई सर्वाधिक लाभांश दिनेमा भने उत्पादनमूलक क्षेत्रकै कम्पनी अघि रहेका छन् । यस क्षेत्रका ९ वटा कम्पनी सूचीकृत भएकोमा हालसम्म ६ वटाले घोषणा गरिसकेका छन् भने ३ वटाको घोषणा हुनै बाँकी छ ।
कम्पनीहरूले घोषणा गरेको लाभांश सम्बन्धित कम्पनीको वार्षिक साधरण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । नगद लाभांश सभा सकिएको केही दिनमै सेयरधनीको बैंक खातामा आउँछ भने बोनस सेयर भने नेप्सेमा सूचीकृत भएपछि मात्रै कारोबार गर्न पाउने छन् ।
यी कम्पनीको बोनस सूचीकृत भइसक्यो
गता आवको नाफाबाट लाभांश दिएका मध्ये आधादर्जन कम्पनीके बोनस सेयर समेत नेप्सेमा सूचीकृृत भइसकेको छ । एभरेष्ट बैंक, हाथवे इन्भेस्टमेन्ट, आशा लघुवित्त, भगवती हाइड्रोपावर, स्वाबलम्वन लघुवित्त, सीईडीबी होल्डिङस्, कामना सेवा विकास बैंक, नेपाल ल्युब आयलको बोनस सेयर सूचीकृत भइ कारोबारमा आइसकेको छ ।
कुन कम्पनीले कति दिए लाभांश ?
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।