काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये बुधबार सात जिल्लामा अधिवेशन हुँदैछ ।
यही असोज ५ गते सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
पार्टीले २० जिल्लाको वडा अधिवेशन यही असोज ५ गते एकै दिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो । बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण समयमै समितिलाई प्राप्त हुन नसकेका कारण ती जिल्लामा भने वडा अधिवेशन निर्धारित समयमा नहुने देखिएको हो ।
कांग्रेसले यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको हो । प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण प्राप्त भएसँगै समय तोकेर अधिवेशन हुँदै जाने समिति सदस्य एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् । कांग्रेसले महाधिवेशनअन्तर्गत गाउँ/नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ ।
त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।