काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तिजमा भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानुपर्ने बताएकी छन् ।
हरितालिका तिज २०७८ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले तिजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको बताएकी हुन् । तिजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्धत पुर्याउने उनको विश्वास छ ।
तिजले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै सभ्य, समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी उनले कामना गरेकी छन् भने जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि भनेकी छन् ।
तिज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तृतीयाका दिन शिव-पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा, उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास रहँदैआएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।