add

काठमाडौं-तराई द्रुतमार्गको भौतिक प्रगति १६ प्रतिशत,२५ अर्ब ३९ करोड रुपैयाँ खर्च






ActPro Nepal

|

१५ साउन, २०७८

|
1266

काठमाडौं । तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ मा कुल विनियोजित रकमको ९७.३५ प्रतिशत कार्य प्रगति भएको नेपाली सेनाले बताएको छ ।

शुक्रबार नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ को वार्षिक कार्यप्रगति स्थिति तथा चालु आ.व. ०७८/७९ को वार्षिक कार्यक्रम प्रस्तुत गर्दै आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले गत आ.व. २०७७/७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएकोमा वार्षिक प्रगति ९७.३५ प्रतिशत भएको जानकारी दिए ।

उनले आ.व. ०७६/७७ सम्म समष्टिगत भौतिक प्रगति ११.११ प्रतिशत रहेकोमा गत आ.व. ०७७/०७८ मा आयोजनाको कुल कार्य अंशको थप ५.१० प्रतिशत काम सम्पन्न भएको बताए । त्यस्तै, आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा १६.१० प्रतिशत प्रगति हासिल भएको उनले स्पष्ट पारे । अयोजनाको स्वीकृत डीपीआरअनुसार १७५ अर्ब लागत अनुमान रहेकोमा आयोजनाको सुरुबाट हालसम्म कुल बजेट खर्च २५ अर्ब ३९ करोड रुपैयाँ भएको उनले बताए । आयोजनाको हालसम्मको भौतिक प्रगति १६.१० रहेको आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले बताए ।

काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडकखण्ड आयोजनाको कुल लम्वाई ७२.५ किमी मध्ये तीनवटा सुरुङ मार्गको जम्मा लम्बाइ ६.४१ किमि, विभिन्न पुलहरूको लम्बाइ १०.५९ किमि र खुद सडक खण्डको लम्बाइ ५५.५ किमि रहेको आयोजना प्रमुख पोखरेलले जानकारी दिए । उनले यसमध्ये आयोजनाको ४४.१ किमि सडक खण्डको सब ग्रेड लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्ने/पुर्ने कार्यहरू हालसम्म ९० प्रतिशत सम्पन्न भएको बताए ।

आयोजनाको डिजाइन तथा कन्ट्रक्सन सुपरिभिजनका लागि अन्तर्राष्ट्रिय परामर्शदाता आयोजना अवधिभरका लागि छनोट भई विषय विज्ञहरूसहितको टोलीले फिल्ड सर्भेलगायतका कार्यहरू सुरु गर्न र विभिन्न ठेक्का प्याकेजको टेन्डर डकुमेन्ट तयार गर्ने काम भइरहेको उनले उल्लेख गरे । आयोजनामा पर्ने तीन सुरुङ मार्ग महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ खण्डमा प्रोजेक्ट म्यानेजर, विषयविज्ञहरूको डिजाइन टिमलगायतका समूहले कार्य प्रारम्भ गरेको उनले बताए । पुल निर्माणका लागि पनि ठेक्का सम्झौता भइसकेको उनले जानकारी दिए ।

उनले पहुँच मार्ग एवं बेलिब्रिज निर्माण कार्य पनि भइरहेको बताए । नेपाली सेनाले आयोजनाको आवश्यकताअनुरूप ५ हजार १ सय ७२ रोपनी जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरिएकोमा ४ हजार ७ सय ४५ रोपनी जग्गा प्राप्ति भएको र हालसम्म ४२७ रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी रहेको जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.