काठमाडौं । पछिल्लो समय महिला उद्यमी व्यवसायिक कर्जामा आकर्षण बढ्न थालेको छ । महिलाहरु व्यवसायमा आकर्षित हुन थालेपछि महिला उद्यमी शिर्षकमा जाने कर्जामा आकर्षण बढ्न थालेको हो ।
स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या ४९ हजार ४ सय ५० भन्दा बढी पुगेको छ ।
राष्ट्र बैंकले सहुलियत ब्याजदरसम्बन्धी कार्यविधि जारी गरेपछि राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकसम्म सम्म महिला उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको संख्या हो यो ।
सरकारले ब्याज अनुदान दिने १० प्रकारका कर्जामध्ये सबैभन्दा धेरै ऋण लिने महिला उद्यमी नै छन् । यो कर्जा लिन महिलाका नाममा उद्योग व्यवसाय सञ्चालन भएको हुनुपर्छ । यस्तो कर्जामा माहिलाले सरकारबाट ६ प्रतिशत ब्याज अनुदान पाउँछन ।
कुनै बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याजदर तय गरे ६ प्रतिशत ब्याजदर सरकारबाट अनुदान पाइन्छ । बाँकी ४ प्रतिशत मात्र महिला उद्यमीले तिर्नुपर्छ । यो शीर्षकअन्तर्गत महिलाले बढीमा १५ लाख रुपैयाँसम्म ऋण लिन पाउँछन ।
ती महिलाका लागि बैंक तथा वित्तीय संस्थाले ४६ अर्ब ४६ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् । गत असारसम्म बैंकहरूले यस्तो कर्जा ४ अर्ब ३५ करोड रुपैयाँ प्रवाह गरेका थिए ।
लक्ष्यअनुसार सहुलियत कर्जा प्रवाह नभएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कृषिबाहेकका कर्जाको सीमा तोकेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकले कम्तीमा पाँच सय वा न्यूनतम प्रतिशाखा १० र राष्ट्रियस्तरका विकास बैंकले कम्तीमा तीन वा न्यूनतम प्रतिशाखा पाँचमध्ये जुन बढी हुन्छ, सोही संख्यामा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले तोकिएको संख्या २०७८ असारसम्म पूरा गर्नुपर्ने प्रावधान छ । राष्ट्र बैंकले २०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो । सहुलियत दरको कर्जामा बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम २ प्रतिशतसम्म मात्र प्रिमियम (ब्याजदर) थप गर्न पाउँछन ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।