काठमाडौं। स्थायी ठेगानामा पठाएको म्याद नबुझेपछि कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई काठमाडौंस्थित ठेगानामा म्याद तामेल गर्न विशेष अदालतले आदेश दिएको छ ।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न भूमिका निर्वाह गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा दायर गरेको मुद्दाका लागि गच्छदारको स्थायी ठेगानामा म्याद तामेल भए पनि उनले बुझेका थिएनन् ।
स्थायी ठेगानामा पठाएको म्याद नबुझेपछि अदालतले उनको काठमाडौंस्थित निवासमा म्याद तामेल गर्न आदेश दिएको हो ।
मुद्दा दायर भएपछि १४ महिना नाघ्दासमेत उनी अदालतमा उपस्थित नभएको र म्याद बुझ्नै नमानेपछि अदालतका कर्मचारीले २३ फागुनमा उनको स्थायी वतन सुनसरीस्थित घरमै पुगेर एक महिनाभित्र उपस्थित हुने म्याद टाँसेका थिए ।
तर, यस अवधिमा पनि उनी अदालत नपुगेपछि विशेष अदालतबाट गच्छदारको काठमाडौंस्थित घरमा म्याद टाँस्ने आदेश भएको हो ।
शुक्रबार विशेषका अध्यक्ष प्रेमराज कार्की र बालेन्द्र रूपाखेतीको इजलासले काठमाडौंस्थित ठेगानामा म्याद तामेल गर्न आदेश दिएको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।