add

रासायनिक मलको समस्या समाधान गर्न सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने: मन्त्री अर्याल






ActPro Nepal

|

१३ पुष, २०७७

|
795

काठमाडौं । नव नियुक्त कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले किसानले वर्षौदेखि भोग्दै आएको रसायनिक मलको समस्या समाधान गर्नका निम्ती दृढ रहेको बताएकी छिन् ।

कृषि तथा पशुपंक्षी मन्त्रीका रुपमा आइतबार पदभार ग्रहण गर्दै मन्त्री अर्यालले मलको समस्या समाधान गर्न सातवटै प्रदेशमा २५/ २५ हजार मेट्रिक टन क्षमताको मल भण्डारणको व्यवस्था गरिने समेत बताइन् ।

‘वर्षौदेखी किसानले भोग्दै आएको रसायनिक मलको समस्यालाई सदाका लागि हल गर्न दृढ छु । आगामी आर्थिक वर्षदेखि रसायनिक मलको समस्या समाधान गरिनेछ’, कृषि मन्त्री अर्यालले भनिन्, ‘त्यसका लागि सातै वटा प्रदेशमा पच्चिस/पच्चिस हजार मेट्रिक टन क्षमताको मल भण्डारणको व्यवस्था गरिनेछ ।’

कृषिमन्त्री अर्यालले वास्तविक कृषकको सूचिकरण गरी कृषक परिचयपत्र वितरण गर्दै कृषि मन्त्रालयबाट उपलब्ध हुने मल, बिउ, औजार, प्रविधि, अनुदान, कृषि बिमा र कृषि ऋण कृषक परिचयपत्रका आधारमा एकद्वार प्रणालीमार्फत लैजाने कार्यको यही फागुनबाट शुरुआत गरिने बताइन् । यसबाट वास्तविक किसानले ठूलो राहत प्राप्त गर्ने अपेक्षा लिइएको समेत मन्त्री अर्यालले बताइन् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई उद्देश्यअनुसार र प्रभावकारी ढंगले परिमार्जन गरी परिणाममुखी कार्यान्वयनमा ल्याइने मन्त्री अर्यालले बताइन् । कृषकबाट उत्पादित वस्तुले उचित बजार नपाएको र पाएपनी उचित मूल्य नपाएको व्यापक रुपमा गुनासो आउने गरेको भन्दै उनले यसको समाधान गर्नका निम्ती पहल गरिने बताइन् ।

उनले भनिन्, ‘हाम्रा बजारलाई संघीय बजार, प्रादेशिक बजार र स्थानीय बजारमा बर्गीकरण गरी यसमा उत्पादक, ‘मिडल म्यान’ र उपभोक्ताको आम हितमा काम गर्नका लागि आवश्यक कार्यको आजैबाट शुरुआत गर्न निर्देशन दिन्छु । साथै कृषि तथा पशुपन्छीका बजार हेर्नका लागि छुट्टै निकायको व्यवस्था मिलाइनेछ ।’

सरकारबाट न्यूनतम समर्थन मूल्य तोकिएका सबै बालीनाली, वस्तु जस्तै : धान, गहुँ, मकै, दुध, उखु बिक्रि नभएमा सरकारले जिम्मा लिने गरी आवश्यक प्रावधानसहित यसै आर्थिक वर्षमा धानको भण्डारणका लागि धान उत्पादन हुने तराई र भित्री मधेशका जिल्लामा धान गोदाम भण्डारण स्थापना गरिने मन्त्री अर्यालले बताइन् ।

नगदे बालीको रुपमा रहेको उखु बाली उत्पादनमा संलग्न आम उखु किसानहरुको ठूलो गुनासो र समस्यालाई निराकरण गर्न दीर्घकालिन योजना बनाई अबिलम्ब र ठोस ढंगले कार्यान्वयनमा ल्याइने मन्त्री अर्यालले बताइन् । हाल भइरहेको किसान आन्दोलनको समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय र गृह मन्त्रालयसँग तत्काल समन्वय गरी समाधान गर्न पहल थालिने कृषि मन्त्री अर्यालले बताइन् ।

आम उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यान दिँदै सम्भाव्यता र कृषकको अभिरुचिका आधारमा प्राङ्गारिक खेती प्रणालीलाई विशेष प्राथमिकता दिएर कार्यक्रम कार्यान्वयनमा ल्याइने उनको भनाई थियो ।

देशमा आलु, प्याज र कागती मात्रै प्रति वर्ष करिब २० अर्बको आयात भइरहेको अवस्थामा देशभित्रै यी बालिहरुको आवश्यकता अनुसार उत्पादन गरी आत्मनिर्भर बन्न विशेष कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिने समेत मन्त्री अर्यालले बताइन् । उनले भनिन्, ‘दुध, माछा, मासु र अण्डामा हामी आत्मनिर्भरको बाटोमा छौ । यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै पूर्ण आत्मनिर्भर रहेको घोषणा गरिने ।’

कृषि अनुसन्धान, कृषि शिक्षा र कृषि प्रसारलाई आवद्ध गरी कृषकको आवश्यकता र चाहनाअनुसार कार्यक्रम निर्माण गरी कार्यान्वयन गरिने मन्त्री अर्यालले बताइन् । साथै बोर्ड, संस्थान र समितिलाई उत्पादनमूलक र उद्देश्यमूलक बनाउन आवश्यक कदम चालिने बताइन् ।

सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न राष्ट्रसेवक कर्मचारीहरुको योगदान महत्वपूर्ण हुने भन्दै उनले कुनैपनि कर्मचारीलाई आस्थाका आधारमा, कहीँकतै भेदभाव नगरी उसको कामप्रतिको जिम्मेवारी र लगनशीलताका आधारमा मूल्यांकन गरिने बताइन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.