रूपन्देही। तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन्।
स्वास्थ्य मापदण्ड पालना गर्दै मङ्सिर ७ गतेदेखि विद्यालय सञ्चालनको तयारी गरिएको छ।
कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेका विद्यालय विद्यार्थीलाई भौतिकरूपमै कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएका हुन्।
संघीय सरकारले तय गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा अनुसार जनस्वास्थ्य प्रोटोकल मापदण्ड अवलम्बन गरी विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख गङ्गाराम आचार्यले जानकारी दिए।
उनका अनुसार नगर शिक्षा समितिको विस्तारित बैठकमा छलफल भई नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार पारित गरेको मापदण्डमा रहेर विद्यालय खुल्ने भएका हुन्।
तोकिएको मापदण्ड अनुसार विद्यालय सञ्चालन भए/नभएको अनुगमन गर्न जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक सङ्घसंस्था, प्याब्सन, एनप्याब्सनका प्रतिनिधि रहेको अनुगमन समितिसमेत गठन गरिएको छ।-रासस
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।