काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि आज काठमाडौँ आउँदै छन् ।
नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुरुप उनी नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न यहाँ आउन लागेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सोही अवसरमा राष्ट्रपतिसँग उनले शिष्टाचार भेट गर्नेछन् । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणे १८औँ सेनापति हुन् ।
नेपाली सेनाले स्थलसेनाध्यक्ष नरवणेको भ्रमणको मुख्य उद्देश्य परम्पराको निरन्तरता भने पनि नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका भूभाग भारतले राजनीतिक नक्शामा समेटेपछि उत्पन्न द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउन उनको यहाँ हुने भेटघाट महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ ।
स्थलसेनाध्यक्ष नरवणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन् । त्यसलगत्तै सैनिक मुख्यालय जङ्गीअड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । सोही दिन प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरावणेसँग औपचारिक भेटवार्ता गर्नेछन् । सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित १३औँ बैठकमा भएको सहमति अनुरुप स्थलसेनाध्यक्ष नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ । उनको सम्मानमा बिहीबार नै जङ्गीअड्डामा रात्रिभोज आयोजना हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थलसेनाध्यक्ष नरवणेले शुक्रबार औपचारिक भेट गर्नेछन् । जनरल नरवणेको नेतृत्वमा रहेको चार सदस्यीय भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कने जनाइएको छ ।
काठमाडौंमा उच्च सुरक्षा
नरवाणे आगमनको पूर्वसन्ध्यामा काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नरवाणे आवतजावत गर्ने सडकमा समेत सुरक्षा सर्तकता बढाइएको हाे ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले नरवाणेको भ्रमणको बेला हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएका छन् । नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले सुरक्षा व्यवस्था मिलाएको सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।