add

पार्टी एकताको पक्षमा उभिऔं : प्रवक्ता श्रेष्ठ






ActPro Nepal

|

१७ कार्तिक, २०७७

|
1371

काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका छन्।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत् पार्टीको बैठक बसी सबै पक्षका बारेमा खुल्ला छलफलबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

‘‘हाम्रो पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मिहेनत पसिना लगाएर हासिल गरिएको हो। यसको विफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन,’’ उनले लेखेका छन्, ‘‘फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिस्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकहरूको चाहना र जनादेशविरूद्ध हुन्छ। तसर्थ, पार्टी एकताको पक्षमा दृढतापूर्वक अभिऔं र आ–आफ्नो ठाउँबाट एकताको रक्षाको निम्ति सक्रिय पहल गरौं।’’

उनले पार्टीको बैठक बसी सबै पक्षहरूको बारेमा खुला छलफल गर्नुपर्ने माग गरेका छन्। ‘‘पार्टीको बैठक बसौं र सबै पक्षहरूका बारेमा खुला छलफल गरौं। पार्टीभित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालनसम्बन्धी अवधारणासँग सम्बन्धित रहेको हुनसक्ने भए पनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन,’’ प्रवक्ता श्रेष्ठ लेख्छन्, ‘‘तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिबद्धता भए पुग्छ, पार्टीको विधि, पद्धति एवं निर्णयको पालना र कार्यान्वयन।’’

उनले व्यक्तिगत अहंकार, आवेग र आक्रोशले समाधान नदिने र कसैको हित नगर्नेसमेत उल्लेख गरेका छन्। ‘‘देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौँ र सकारात्मक निष्कर्ष निकालौँ। जान वा अञ्जानमा देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरूको चाहना पूरा गर्ने कसैबाट हुन नजाओस्, सबैले सममै सोचौँ,’’ श्रेष्ठले लेखेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.