add

दुबईमा अलपत्र नेपाली लिन उड्यो वाइडबडी जहाज






ActPro Nepal

|

७ भदौ, २०७७

|
851

काठमाडौं। चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अलपत्र परेका नेपालीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ए–३३० जहाज आज त्यसतर्फ उडेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौं आइपुग्ने तालिका छ। दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज आजै काठमाडौ आइपुग्ने निगम प्रवक्ता अर्चना खड्काले बताइन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौं–दुबईका लागि उद्धार उडान सञ्चालन गरेको हो। निगमको गत १८ अगस्टका लागि दुबईबाट काठमाडौंका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौंमा क्वारेन्टाइनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगन गरेको थियो।

उक्त दिन दुबईबाट काठमाडौं उडानका लागि टिकट लिइसकेका यात्रुका लागि आज उडान गरिएको निगमले जनाएको छ। त्यस दिन काठमाडौंबाट २३५ यात्रु तथा १५ टन कार्गो लिएर गएको निगमको वाइडबडी जहाज दुबईबाट रित्तै फर्किएको थियो।

जहाज रित्तै फर्केपछि सम्बन्धित निकायको चौतर्फी आलोचना भएको थियो। उडानका लागि दुबई विमानस्थलमा तयारी अवस्थामा रहेका यात्रु अलपत्र परेका थिए।
मन्त्रिपरिषद् बैठकले फेरि उद्धार उडान सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो।

कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पिसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने र त्यस्तो उडान दैनिक पाँच सय यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय गरिएको छ। त्यस प्रयोजनका निम्ति संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयलाई उडान तालिका बनाउने जिम्मेवारी दिइएको छ।

सरकारी निर्णयानुसार पिसीआर परीक्षण सहज भएका मुलुकहरु मलेशिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयानुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसङ्घका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गरिनेछ।

बैठकले पिसीआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत यात्रु ल्याउन नपाइने निर्णय गरेको छ। नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरिनेछ।

यसरी आउने यात्रुको ७२ घन्टाभित्र पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने जनाइएको छ। विदेशबाट आउने यात्रु काठमाडौँमा आएपछि सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार आज विभिन्न मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन चार अन्तर्राष्ट्रिय उडान हुँदै छन्। नेपाल एयरलाइन्सको दुबई र हिमालय एयरलाइन्सको चीनको कुनमिङमा दुई उडान हुनेछ। हिमालयका दुवै जहाज राति गन्तव्यतर्फ उड्ने विमानस्थलले जनाएको छ।

आजै भोल्गा ड्नेपर एयरलाइन्स नागपुरबाट काठमाडौं विमानस्थलमा अवतरण गर्नेछ। भोल्गा ड्नेपर एयरलाइन्सको जहाज बिहान १०ः१५ बजे कामाडौं आएर आजै दिउँसो ३ः१५ बजे फर्किने तालिका रहेको छ। -रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.