add

यार्सा टिप्न रोक : राजस्व प्रभावित






ActPro Nepal

|

८ वैशाख, २०७७

|
1428

मनाङ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दीका कारण यार्सागुम्बा टिप्नमा रोक लगाइएको छ । 

यार्सागुम्बा टिप्ने मौसम शुरु भए पनि लकडाउनका कारण यस वर्ष जिल्ला प्रशासन कार्यालय मनाङले यार्सागुम्बा टिप्न रोक लगाएको हो । 

सङ्घीय सांसद पोल्देन छोपाङ गुरुङको अध्यक्षमा जिल्लाका चारवटै गाउँपालिकाका प्रमुखको सहभागितामा बसेको बैठकले यार्सागुम्बा टिप्न जाने बाटो नखोल्ने निर्णय गरेको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए ।  

महङ्गो र लोपोन्मोख बहुउपयोगी हिमाली औषधि जडीबुटी यार्सागुम्बा टिप्ने मौसम भए पनि देश नै लकडाउनको अवस्थामा रहेकाले त्यसलाई टिप्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । 

सरकारले शारीरिक दूरी कायम गरेर बस्न र जमघट हुने गरी समूहमा नबस्न निर्देश गरेअनुरुप यार्सागुम्बा टिप्न रोक लगाएको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए । 'यार्सागुम्बा टिप्न जाँदा धेरै भिडभाड हुने र जिल्ला बाहिरबाट समेत यार्सा टिप्नका लागि मानिस यहाँ आउने भएकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्ने हुँदा निषेध गरेका हौँ', उनले भने, 'सरकारको अर्को सूचना नआउँदासम्मका लागि यार्सा टिप्न रोक लगाएको छ ।' 

यार्सा टिप्न मनाङलगायत गोरखा, लमजुङ, रुकुम, रोल्पा, डोल्पा र धादिङ जिल्लाबाट धेरै मानिस यहाँ आउने भएकाले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर रोक लगाएको अध्यक्ष  घलेको भनाइ छ । 

नासो गाउँपालिकाको नाम्के खर्क, डाँफे लेक, चामे गाउँपालिकाको लमजुङ बेसक्याम्प, नार्पाभूमि गाउँपालिकाको चुम्री खर्क, याक खर्क, आइस लेक र मनाङ ङिस्याङ गाउँपालिकाको गुमछाङ, याक खर्क, लेदर, तिलिचो बेसक्यामलगायतका खर्कमा यार्सा पाइन्छ । 

जिल्लाकै राजश्व सङ्कलनमा उल्लेखनीय टेवा पुर्‍याउने यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि आयस्रोतसमेत घाटा हुने देखिएको संरक्षण व्यवस्थापन समिति (सिएमसी) नासो गाउँपालिकाका अध्यक्ष यादव घलेले बताए । 

गत वर्ष स्थानीयलाई  १० देखि १५ हजार रुपैयाँ पुर्जी काटेर यार्सा टिप्न अनुमति दिइएको भए पनि यस वर्ष टिप्नै नपाइने भएको उनले बताए । 'गत वर्ष जिल्ला बाहिर तथा व्यापारीले भने २० देखि ४० हजार रुपैयाँ सम्मको कुपन लिएर यार्सा टिप्ने अनुमति लिएको थियो', उनले भने । 

वैशाख दोस्रो सातादेखि जेठसम्म मौसमका रुपमा मानिने र अनुमति लिएर यार्सागुम्बा टिप्न जाने गरेको नासो गाउँपालिका–२ का वडाध्यक्ष भीमबहादुर गुरुङले बताए । 

जिल्लामा यार्सा टिप्नका लागि अनुमति दिँदा स्थानीयवासीलगायत बाहिरबाट आउने मानिसमा कोभिड– १९ को सङ्क्रमण हुन सक्ने र मनाङमा फैलिन सक्ने जोखिम न्यूनीकरणका लागि यार्सा टिप्न निषेध गरिएको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । 

मनाङको मुख्य आयस्रोतका रुपमा रहेको यार्सागुम्बा टिप्न अनुमति लिएर मात्रै जाने गरेको भए पनि यस वर्ष रोक लगाइएको अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख बाबुलाल तिरुवाले बताए ।

तालाडाँडा, लार्केपास, चीनको बोर्डरमा पर्ने नार्पाभूमि र थोराङ्ला भञ्ज्याङ यार्सा गुम्बा टिप्न जाने नाका हुन् ।  –रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.