add

कोरोनालाई जितेका युवा भन्छन‍् - नयांँ जीवन पाएँ






ActPro Nepal

|

८ वैशाख, २०७७

|
1183

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । तीमध्ये चार जना निकाे भएरु घर फर्किसकेका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका २१ वर्षीय युवक पनि नतिजा नेगेटिभ आएपछि घर फर्किएका छन् । सेती अस्पतालमा उपचाररत पांँचमध्ये उनी भारतको मुम्बईबाट गत चैत ८ गते घर फर्किएका थिए ।

चैत १० गते धनगढीको गौरीफन्टा पुगेका उनी लकडाउनका कारण सीमामा रोकिएपछि प्रदेश सरकारले चैत ११ गते राति उद्धार गरेपछि १२ गते बिहान घर पुगेका थिए । घर पुगेलगत्तै लम्कीचुहा नगरपालिकाको क्वारेन्टाइनमा बसे । उनमा कोभिड-१९ संक्रमणको नतिजा पोजेटिभ आएपछि चैत २२ गते सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेशनमा भर्ना भए ।

उपचारपछि स्वाब परीक्षण नतिजा दुई पटकसम्म नेगेटिभ आएको छ । उनी सन्चो भएका छन् । विकलाई अस्पतालले आइतबार घर पठाएको छ । आइतबार सांँझ ६ बजे घर पुगेका कोरोना विजेतासंँग राससकर्मी दुर्गा देवकोटाले कुराकानी गरेका छन् ।

आइसोलेशनमा तपाईंको दिनचर्या कसरी बित्यो ?

म १६ दिन आइसोलेशनमा बसेर फर्किएको छु। नयांँ जीवन पाएजस्तै लागेको छ । अस्पतालमा बस्दा फेसबुक चलाए, युट्युबमा विभिन्न भिडियो, चलचित्र हेरेँ। फोनमा धेरै साथीहरुसंँग कुराकानी गर्थें अस्पतालले ‘भागवत गीता’ दिएको थियो, त्यो पनि पढेंँ । अस्पतालमा हामी पांँच जना संक्रमित थियौँ । हामीलाई अलगअलग कोठामा राखिएको थियो । हामी आफ्नो कोठाको बाहिर निस्केर एक आपसमा गफ गर्थ्याैँ एक अर्काका समस्याबारे जानकारी लिन्थ्यौंँ । हामी सबैलाई खासै समस्या थिएन।

डाक्टर र नर्सको व्यवहार कस्तो पाउनुभयो?

डाक्टर, नर्सहरुले निकै राम्रो व्यवहार गरे । हाम्रो कोठामा भने कोही आएनन् । खानेकुरा र औषधि झ्यालबाटै दिन्थे। फोन गरेर पटकपटक जानकारी लिन्थे ।

बाहिरबाट हेर्थे, कुरा गर्थे, रमाइलो कुरा गरी हंँसाएर जान्थे । एकदिन भने एक जना डाक्टर मेरो नजिकै आउनुभएको थियो। उहांँले नआत्तिन आग्रह गर्नुभयो। हामी तपाईंको साथमा छौंँ भन्नुभयो, निकै खुशी लागेको थियो ।

कत्तिको डराउनुभएको थियो, अन्य बिरामी कत्तिको त्रसित थिए ?

कोभिड –१९ लाग्यो भनेपछि त्यसै डरलाग्दो रहेछ । संक्रमण भयो भनेपछि मलाई तनाव भयो । हामी पांँच जना संक्रमित पनि एक आपसमा भेट्नै डर लागेको थियो । रोग लागेको छ भनेपछि बांँच्नुपर्छ भन्ने लाग्दोरहेछ । जीवनमा देखेका सपनाहरु सम्झिएँ, जीवन के हो त्यतिखेर बुझेंँ । डाक्टरहरुसँंग कुरा गर्दा हिम्मत मिल्ने रहेछ । मलाई कुनै पनि लक्षण भने देखिएको थिएन तर पनि संक्रमण देखियो भनेपछि अलि डराएको थिएँ ।कोरोना संक्रमण भएका बिरामी राखिएका छन् भनेपछि हामी बस्ने वार्डमा अन्य कोही मानिस आउंँदैनथे । डाक्टर र नर्सबाहेक अन्य कोही आएनन् ।

तपाईंलाई केके लक्षण देखिएको थियो ?

मलाई केही समस्या नै भएन । मलाई कुनै पनि लक्षण देखिएन। ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या जस्ता कुनै लक्षण थिएनन् । म एकदमै स्वस्थ थिएँ । लक्षण नदेखिएपछि सुरुका केही दिन त मैले डाक्टरहरुलाई म संक्रमित छैन भनेर जिद्दी गरेँ । मलाई मात्र होइन अन्य चार जनालाई पनि खासै समस्या छैन । धनगढीका विदेशबाट आएका दाइलाई भने खोकी लाग्थ्यो । अरु सबै सामान्य छन् ।

अब कसरी बस्नुहुन्छ ?

म विपन्न परिवारको मानिस हूँ  । म भारतको होटलमा खाना पकाउने काम गर्थेँ। मैले कमाएर मेरो घर चलेको छ । अहिले त केही दिन छुट्टै बस्छु ।

घरमा आफैँ पकाएर खान मिल्ने व्यवस्था छैन तर छुट्टै बस्ने, कसैलाई नछुने, सुरक्षित तवरले बसेको छु । म घर फर्केपछि मेरी आमा धेरै खुशी हुनुभएको छ । घरमा हामी ११ जनाको परिवार छ । मेरो आमाका सपना पूरा गर्नुछ । एक हप्तापछि पुनःपरीक्षण गर्ने भनिएको छ। अहिले त डाक्टरहरुले भनेअनुसार बस्छु । पछि त काम गर्नैपर्छ, नत्र जीवन कसरी चलाउनू ?

कोभिड –१९ संक्रमणबाट बच्न अन्यलाई के सुझाव दिनुहुन्छ?

मैले अस्पताल बस्दा तातोपानी धेरै खाएँ । पटकपटक खाना, फलफूल खाएँ । खानपिनमा ध्यान दिनुस् । लकडाउन पालना गरौँ । सकेसम्म एक आपसमा टाढा रहौँ। संक्रमण देखिहाले पनि नआत्तिन अनुरोध गर्छु । हिम्मत भए सञ्चो हुन्छ । कोरोना लाग्यो भनेपछि मानिस बढी आत्तिने रहेछन् । नआत्तिए रोग जित्न सकिन्छ।

मलाई साथ दिने र सहयोग गर्ने सबैलाई धन्यवाद। मेरो उपचारमा खटिने डाक्टर, नर्स, लम्कीचुहा नगरपालिका, साथीभाइ मेरो स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति आभारी छु ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.