add

वाणिज्य बैंकहरूको नाफा करिब ७ प्रतिशतले बढ्यो,कुनको कति ?






ActPro Nepal

|

१ असोज, २०८१

|
194

काठमाडौं । वाणिज्य बैंकहरूको नाफामा सुधार आएको आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिला महिना (साउन)मा वाणिज्य बैंकहरूले कुल ९ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका छन् ।

यो गत आवको साउनको तुलनामा ७.६४ प्रतिशत धेरै हो । वाणिज्य बैंकहरूले गत वर्षको साउनमा ८ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएका थिए । चालु आवको साउनमा वाणिज्य बैंकहरूले औसतमा ४५ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

आर्थिक शिथिलता कायमै रहेकाले व्यवसाय विस्तार गरेरभन्दा पनि नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाका कारण बैंकहरूको नाफामा सुधार आएको हो ।

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत बैंकहरूले असल धितोमा राख्नुपर्ने नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) १.२ प्रतिशतबाट घटाएर १.१ प्रतिशतमा झारेको थियो । साथै, कर्जा रिकभरीमा पनि केही सुधार आउँदा बैंकहरूको नाफामा सुधार देखिएको हो ।

गत वर्षको तुलनामा यस वर्षको साउनमा १३ बैंकको नाफा बढेको छ भने ७ बैंकको घटेको छ । समीक्षा अवधिमा नेपाल, एनआईसी एसिया, नेपाल इन्भेस्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, ग्लोबल आईएमई र हिमालयन बैंकको नाफामा गिरावट आएको छ । जसमा नेपाल बैंकको सर्वाधिक ३७.८६ प्रतिशतले घटेको छ ।

साउनमा कृषि विकास बैंक र नेपाल एसबीआइले भने नाफा दोब्बरभन्दा धेरैले बढाएका छन् । कृषि विकासको सबैभन्दा धेरै ११४.७३ प्रतिशत र नेपाल एसबीआइको १०७.६२ प्रतिशतले नाफा बढेको छ । त्यस्तै, प्रभु बैंकले ७९.४२ प्रतिशत र सानिमा ५१.८८ प्रतिशत नाफा बढाउन सफल भएका छन् ।

रकममा आधारमा भने ग्लोबल आइएमई सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । साउनमा ग्लोबलले ८९ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । यद्यपि, गत वर्षको तुलनामा ग्लोबलको नाफा १०.०७ प्रतिशतले घटेको छ ।

त्यस्तै, नबिलले दोसे धेरै ८० करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । गत साउनको तुलनामा नबिललको खुद नाफा ६.३३ प्रतिशतले बढेको छ ।

साउनमा कृषि विकासले ७१ करोड, हिमालयन साढे ५८ करोड, इन्भेष्टमेन्ट मेगा साढे ५७ करोड, प्रभु ५३ करोड, प्राइम ५० करोड, कुमारी ५० करोड, लक्ष्मी सनराइज ४३ करोड, एनएमबी र एभरेष्ट समान ४२ करोड, सानिमाले ३८ करोड रुपैयाँ नाफा कमाएको छ ।

त्यसैगरी, राष्ट्रिय वाणिज्यले ३६ करोड, सिद्धार्थ ३५ करोड, सिटिजन्स ३४ करोड, नेपाल एसबीआई ३३ करोड, स्ट्याण्डर्ड चार्टर्ड ३१ करोड, एनआइसी एशिया साढे २६ करोड, नेपाल २२ करोड र माछापुच्छ्रेले सबैभन्दा कम २० करोड रुपैयाँ नाफा कमाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.