add

फागुनका लागि बैंकहरूले घटाए निक्षेपको ब्याजदर,कुनले कति ?






ActPro Nepal

|

२९ माघ, २०८०

|
301

काठमाडौं । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् ।

बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग नबढेपछि बैंकहरूले थप ब्याजदर घटाएका हुन् । बैंकहरूले घटाएको ब्याजदर भोलि फागुन १ गतेदेखि लागू हुनेछ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ब्याजदर घटाउन नीतिगत सहजीकरण गरिदिएसँगै बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन् । 

तथ्याङ्क अनुसार राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको थियो ।

फागुनका लागि १४ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने चार बैंकले माघकै ब्याजदर यथावत राखेका छन् । अरु सबै बैंकले निक्षेपको ब्याजदर घटाउँदा लक्ष्मी सनराइज, हिमालयन, एभरेष्ट र माछापुच्छ्रे बैंकले भने अघिल्लै महिनाको यथावत राखेका छन् ।

माघको तुलनामा फागुनमा वाणिज्य बैंकहरूले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.३९९ प्रतिशत विन्दु र संस्थागततर्फ ०.३८७ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । माघमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ८.१६७ प्रतिशत रहेकोमा फागुनमा घटेर ७.७१७ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर माघमा ६.१२४ प्रतिशत रहेकोमा फागुनमा ५.७१२ प्रतिशतमा झरेको छ ।

फागुनमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर २.०५७ प्रतिशतसम्म फरक भएको छ । एनएमबीले सर्वाधिक ८.५ प्रतिशत र कृषि विकासले सबैभन्दा कम ६.४४३ प्रतिशत ब्याजदर दिने भएको छ । अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाएको यो लगातार पाँचौं महिना हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि असोजमा बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका थिए । तर, महँगो ब्याजमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसकपछि बैंकको उल्टो लागत बढेको थियो । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले बाध्य भएर ब्याजदर घटाउन थालेका हुन् ।

साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेको थियो । त्यस यता बैंकहरूलाई आफूखुसी स्वतन्त्र रुपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । साउनअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.