add

निजी क्षेत्रले सरकारसँग माग्यो निर्यात नीति






ActPro Nepal

|

१६ वैशाख, २०७९

|
578

काठमाडौं । मुलुकमा हालसम्म पनि निर्यातसम्बन्धी नीति बन्न नसकेका कारण निकासी व्यापारले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्दै निजी क्षेत्रले निर्यात नीतिको माग गरेको छ ।

निर्यातसम्बन्धी ठोस नीति नहुँदा तथा राज्यका निकायहरुबीच समन्वय अभावले निजी क्षेत्र समेत अलमलमा परेको भन्दै यस्तो नीतिको माग गरिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले बताए ।

नेपाल हाते कागज संघको १५ औं वार्षिक साधारणसभा तथा नेपाली कागज प्रदर्शनी समारोहलाई सम्बोधन गर्दै महासंघ उपाध्यक्ष श्रेष्ठले सरकारले निर्यातजन्य वस्तुलाई उचित संरक्षण र सम्बर्द्धन गर्न नसक्दा मुलुकको अर्थतन्त्र नै आयातमुखी बन्दै गएको धारणा राखे ।

‘अहिलेसम्म हाम्रो देशको निर्यातसम्बन्धी नीति के हो भन्ने हामी कसैलाई थाहा छैन,’ उनले भने, “निर्यातमा नगद प्रोत्साहन नीति भनेर ल्याइयो तर त्यो यति झन्झटिलो बनाइएको छ कि त्यो लिन खोज्यो भने निर्यातकर्ताको मनोबल नै कमजोर बनाउँछ ।’

मुलुकको अर्थतन्त्रमा घरेलु उद्योगको योगदान २२ प्रतिशत रहे पनि निर्यातमुखी समेत रहेका यस्ता उद्योग सरकारी उपेक्षाको शिकार बन्दै गएको उपाध्यक्ष श्रेष्ठ बताउँछन् ।

साधारणसभामा संघका अध्यक्ष किरणकुमार डंगोलले नेपालको मौलिक उत्पादन हाते कागज निकासीमा ९० प्रतिशतसम्म मूल्य अभिवृद्धि भइरहे पनि राज्यले यसलाई प्राथमिकतामा राख्न नसक्नु दुखद् भएको बताए ।

उनले निकासी बढाउने इच्छाशक्ति नहुँदा खर्बौंको आयात र व्यापारघाटा हुँदा पनि टुलुटुलु हेरिरहनुपरेको धारणा राखे ।

नेपाली कागजमा गुणस्तर वृद्धिका लागि आफूहरु तयार रहेको उल्लेख गर्दै अध्यक्ष डंगोलले स्वदेशमा पनि यसको खपत बढाउनुपर्ने र निकासीमा सहजीकरण गर्न सरकारसँग आग्रह गरे ।

नेपाली लोक्ताबाट जापानले नोटसमेत बनाएको स्मरण गर्दै अध्यक्ष डंगोलले यसबाट रोजगारी सिर्जना गर्न सकिने अथाह सम्भावना रहेको बताए ।

कार्यक्रममा उद्योगसचिव अर्जुनप्रसाद पोख्रेलले हातेकागज प्रशोधनमा परम्पारगत प्रविधिलाई आधुनिकीकरण गर्नुपर्ने र श्रमको उत्पादकत्व बढाउनुपर्ने धारणा राखे ।

मन्त्रालयले उत्पादन र बजारीकरणमा सहयोग गर्ने उनको भनाइ छ । सचिव पोख्रेलले गुणस्तरीय उत्पादनमा खरो उत्रन व्यवसायीलाई आग्रह गरेका थिए ।

निर्यात व्यवसायी महासंघ नेपालका उपाध्यक्ष चण्डिप्रसाद अर्यालले निर्यातजन्य वस्तुले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले लागत कम गर्नेतर्फ योजना बनाउनुपर्ने धारणा राखे ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले गुणस्तरीय उत्पादनका लागि श्रमिकलाई तालिम जरुरी रहेको बताए ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक लक्ष्मी जोशीले कूल निकासीमा हातेकागजको ०.८४ प्रतिशत योगदान रहेको र वार्षिक १ अर्ब ३५ करोडको निकासी हुने गरेको तथ्यांक प्रस्तुत गर्दै यसको उत्पादनमा गुणस्तर बढाउँदै बजारीकरणमा सहकार्य गर्ने बताइन् ।

कार्यक्रममा हातेकागजबाट निर्मित सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो भने पाँच उत्कृष्ट हातेकागज निर्यातकर्ता र उत्पादकलाई सम्मान गरिएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई inf[email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


below article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2023. ALL RIGHTS RESERVED.