काठमाडौं । यस वर्षको मनसुनी प्रणाली ६ दिन ढिलो गरी नेपालमा प्रवेश गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार (१९ जुन, २०२६) मनसुन कोशी प्रदेशको पूर्वी भू-भागबाट नेपाल भित्रिएको हो।
नेपालमा मनसुन आगमन हुने सरदर मिति जुन १३ तारिख भए तापनि यस वर्ष भने सरदर मितिभन्दा ६ दिन ढिलो गरी मनसुन भित्रिएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनी प्रणाली कमजोर अवस्थामा रहेको छ। जसले गर्दा देशका अन्य भू-भागहरूमा विस्तार हुन अझै केही दिन लाग्ने देखिएको छ। हाललाई मनसुनको प्रभाव कोशी प्रदेशको सीमित पूर्वी क्षेत्रमा मात्रै देखिएको छ।
अहिले कोशी प्रदेशका पूर्वी तटीय तथा हिमाली क्षेत्रका सीमित भू-भागमा मात्र मनसुनको प्रभाव देखिएको छ भने आगामी दिनमा यो क्रमशः सक्रिय बन्दै देशका अन्य भागमा पनि विस्तार हुने मौसमविद्हरूले बताएका छन्। यस वर्षको मनसुन अवधिमा देशभरि सरदरभन्दा कम वर्षा हुने र बढी गर्मी हुने पूर्वानुमान गरिएको छ।
दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ) र नेपालको जल तथा मौसम विज्ञान विभागले गरेको संयुक्त आँकलन अनुसार प्रशान्त महासागरमा ‘एल निनो’ प्रणालीको प्रभाव र हिन्द महासागरको विशिष्ट तापमानका कारण यो वर्ष नेपालसहित दक्षिण एसियाका धेरैजसो भू-भागमा औसतभन्दा कम वर्षा हुने र अधिकतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना छ।
यस वर्षको प्रि-मनसुन (मार्च-मे) सिजनमा भने नेपालमा विगत ४५ वर्षयताकै सबैभन्दा धेरै पानी परेर नयाँ कीर्तिमान कायम भएको छ। जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार यस वर्षको प्रि-मनसुन वर्षाले विगतका सबै ऐतिहासिक रेकर्डहरूलाई भंग गरेको हो।
नेपालमा प्रि-मनसुन सिजनमा सामान्यतया औसत २२६.३ मिलिमिटर पानी पर्ने गर्दछ। तर, यस वर्ष (सन् २०२६) औसतको १४५.५ प्रतिशत अर्थात् ३३९.७७ मिलिमिटर वर्षा भएको छ, जुन सामान्य औसतभन्दा झन्डै डेढ गुणा बढी हो।
विभागले सन् १९८१ देखि देशका १२६ वटा वर्षा मापन केन्द्रको तथ्यांकलाई आधार मानी प्रि-मनसुनको वैज्ञानिक विश्लेषण गर्दै आएको छ। विभागको तथ्याङ्क अनुसार यसअघि सन् १९९० मा सबैभन्दा धेरै ३३१.४० मिलिमिटर पानी परेको रेकर्ड नै अहिलेसम्मकै उच्च थियो।

Comment