काठमाडौं। नेपाल आयल निगमले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करीब ५३ करोड लिटर डिजेल आयात गरेको छ ।
विसं २०७६ भदौ २४ गते दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा अमलेखगञ्जमा पाइपलाइन सञ्चालनमा आएको एक वर्षका अवधिमा ५३ करोड ४१ लाख तीन हजार लिटर डिजेल आयात भएको छ ।
पाइपलाइन सञ्चालनको एक वर्ष पूरा भएका अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले प्रदेश नम्बर २ को अमलेखगञ्जमा निरन्तर रुपमा डिजेल आयात भइरहेको जनाएको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार ६९ किलोमिटर लामो उक्त पाइपलाइनमार्फत डिजेल आयात हुँदा ढुवानी भाडामा उल्लेख्य बचत भएको र पेट्रोलियम पर्दाथको गुणस्तर सुनिश्चित भएको छ ।
उनका अनुसार भारतको बरौनीदेखि नेपालको अमलेखगञ्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर रु एक र ५० पैसा खर्च हुने गरेकामा पाइपलाइनपछि सो खर्च जोगिएको छ । वर्षमा करीब रु ८० करोड २६ लाख ढुवानीमा रकम बचत भएको जनाइएको छ ।
चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमअनुसार मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने योजनाअनुसार काम अगाडि बढाइएको निगमले जनाएको छ । – रासस
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।