काठमाडौं । सेयर बजारमा अनलाइन कारोबार गर्नका लागि लगानीकर्ताले अब घरबाटै आफ्ना विवरणहरु भरेर पठाउन सक्ने भएका छन् ।
कोरोनाको कारण ब्रोकर कार्यालयसम्म पुग्न असहज बनेपछि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले ग्राहक पहिचान खाता (केवाईसी ) र अनलाइन युजर खाताको फारम घरैमा बसेर भर्न सकिने सुविधा ल्याएको हो । साथै, अनलाइनमार्फत नै केवाइसी पनि अद्यावधिक गर्न सकिनेछ ।
यसका लागि नेप्सेले सबै ब्रोकर कम्पनीहरुको टीएमएस लिंकमा अनलाइन रजिष्ट्रेसन गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यो सुविधा कार्यान्वयनमा आएसँगै आवश्यक युजरनेम र पासवर्ड लिन अब लगानीकर्ताहरु ब्रोकर कार्यालयसम्म धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।
नयाँ व्यवस्थाबाट अनलाइन प्रयोगकर्ता बढाउन सहयोग पुग्ने नेप्सेको भनाई छ । कोरोना संक्रमण बढेका बेला भौतिक दूरी कायम गर्न समेत सहयोग पुग्नेछ ।
कसरी भर्ने अनलाइन फारम
ब्रोकरको टिएमएसको लिंकमा गएपछि त्यहाँ रजिष्टर भन्ने आउँछ । उक्त अप्सनमा गएपछि एउटा फारम आउँछ, त्यो भनुपर्ने हुन्छ । संसारको कुनै पनि स्थानमा बसेर अनलाइनमार्फत यो भर्न सकिने नेप्सेले बताएको छ ।
त्यसका लागि 'टिएमएस ब्रोकर नम्बरसहितको नेप्से टिएमएस डटकम डट एनपी' मा गएपछि एउटा फारम आउने र लगानीकर्ताले त्यो फारम भरेर सबमिट गरेपछि ब्रोकरले त्यसलाई हेरेर भेरिफाइ गर्नेछ ।
यसमा अनलाइनबाटै लगानीकर्ताले आफ्ना मागेका व्यक्तिगत विवरणका साथै, बैंक विवरण, प्रडक्ट विवरण, डीपी विवरण र डकुमेन्ट अप्सनहरुले मागेका काजगातहरु अपलोड गरेर फारम भरेपछि सबमिट गर्नुपर्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।