काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका प्रतिनिधीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डसँग भेटेर विभिन्न विषयहरूमा छलफल गरेको हो ।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरूबारे संक्षिप्त रूपमा चर्चा गर्दै अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिनु पर्ने माग राखे । बैंकहरुबाट निजी सवारी साधनको हायर पर्जेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको हालको ५० प्रतिशतको सीमालाई वृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने समेत उनले माग राखे ।
चालु पुँजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यवहारिक बुँदाहरूलाई समेत तत्कालै संशोधन गरिनु पर्ने तथा भारतीय मालवाहक ट्रकलाई ७२ घण्टासम्म निर्बाध रूपमा नेपालमा प्रवेश गर्न दिनाले नेपालको अटोमोवाइल व्यवसायमा नकारात्मक असर पर्न गएकोले त्यसलाई व्यवस्थित गर्नका लागि आग्रह उनले आग्रह गरे ।
सो छलफलमा सम्माननीय प्रधानमन्त्रीले विद्युतीय सवारी साधन, चार्जिङ्ग स्टेसन र नेपालमा अटोमोवाइल सम्बन्धी उद्योगहरूको सम्भावनाहरूका सम्बन्धमा विशेष चासो राख्दै प्रस्तुत समस्याहरूको समाधानका लागि आवश्यक पहल गरिने बताए । उक्त छलफलमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सह कोषाध्यक्ष पंकज अग्रवाल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।