काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले अटोमोवाइल क्षेत्रमा कार्यरत प्राविधिज्ञहरुको शीप तथा क्षमता विकासका लागि दीर्घकालिन प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दै जाने उद्धेश्यले शीप तथा क्षमता विकास इकाई समेत गठन गरेको छ ।
नाडाले उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा ६ सदस्यीय इकाई गठन गरेको हाे । विद्युतीय सवारी साधनहरुको क्षेत्रमा कार्यरत प्राविधिकहरूको सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ समेतको सहयोगमा नाडाले यही २०८० जेष्ठ २४ र २५ गते नाडा सचिवालयमा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
शुरुआती चरणको उक्त कार्यशाला गोष्ठीमा विद्युतीय सवारी साधनहरु आयात गर्ने नाडाका सदस्य कम्पनीहरुबाट जम्मा ७ जना प्राविधिज्ञहरु सहभागी भएका थिए भने नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट महासंघका पाठयक्रम विकास विशेषज्ञ खेमराज काफ्लेले सो गोष्ठीमा मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिएका थिए ।
विद्युतीय सवारी साधनहरुको प्रयोग र महत्व दिन प्रतिदिन बढदै गएको परिप्रेक्षमा नाडाले पहिलो पटक त्यस किसिमको कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।
उक्त गोष्ठीमा महासंघ अन्तर्गत रहेको इएलएम यसका टिम लिडर चन्द्रकान्त अधिकारी र लेखा प्रमुख पर्शुराम नेपालको विशेष सहयोग रहेको सो वर्कशप गोष्ठीको लागि नाडाका उपाध्यक्ष, विद्युतिय सवारी साधन समितिका सभापति र स्कील डेभलपमेण्ट इकाईका सभापति राजनबाबु श्रेष्ठले आवश्यक पहल गरेका थिए ।
यस किसिमको वर्कशप गोष्ठीबाट विद्युतिय सवारी साधनहरुको सम्बन्धमा आवश्यक सीप र ज्ञान अभिवृद्धि हुने नाडाले अपेक्षा राखेको छ । त्यसैगरी महासंघसंगको सहयोगमा त्यस किसिमका प्राविधिक तालिम कार्यक्रमहरु सम्पन्न गर्दै जाने लक्ष्यसमेत लिएको बताइएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।