काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र चितवन अटोमोबाइल्स एशोसिएशन, प्रदेश ३ संगको सहकार्यमा कर, भन्सार तथा भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
असार ४ गते चितवनको भरतपुरमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । नाडाका अध्यक्ष धु्रवबहादुर थापाले आर्थिक वर्ष २०७९÷८० को बजेटले सवारी साधनको महशुलमा गरेको परिवर्तनले व्यवसायीहरूमा थप अन्योलता आएको भन्दै देशमा विद्यमान तरलता अभावले व्यवसायीहरूले आफनो व्यवसाय सञ्चालन गर्न कठिन हुँदै गएको बताए ।
अध्यक्ष थापाले विश्वमा विद्युतिय सवारी साधनहरूको प्रयोग अपरिहार्य भएकोले यसलाई व्यवस्थित गर्न सरकारले आवश्यक नीति नियमहरूको तर्जुमा गरेर थप रोजगारी सिर्जना गर्नु पर्ने बताए । यसै क्रममा अध्यक्ष थापाले व्यवसाय मैत्री नीति नियम ल्याउन सरकारलाई नाडाले दबाब दिँदै आएको परिप्रेक्षमा स्वच्छ व्यवसायको लागि समेत नाडाले आवाज उठाउँदै आएको बताए ।
आन्तरिक राजश्व कार्यालय, भरतपुरका प्रमुख घनश्याम पन्थी, वीरगञ्ज भन्सार कार्यालयका निर्देशक हरिहर पौडेल, राजश्व अनुसन्धान विभागका कम्प्युटर अधिकृत पवन बस्नेत तथा चार्टड एकाउण्टेन निकेट अग्रवालले आ-आफनो विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए ।
उक्त प्रशिक्षण कार्यक्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्धय अनुप बराल, निलमणी पाठक, प्रकाश कपुरी तथा सोहन श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
नाडाले गत जेष्ठ २७ गते लुम्बिनी अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, प्रदेश ४ को सहकार्यमा सोहि प्रकारको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । नाडाले यही असार मसान्तसम्म ७ वटै प्रदेशमा यस्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गर्दे जाने बताएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई inf[email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।