काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी बडादशैं तथा तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना एटीएम मेसिनमार्फत १०० रुपैयाँ दरका नोट पनि वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।
मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्राचार गर्दै चाडपर्वका बेला नयाँ तथा साना दरका नोट साट्न बैंकका शाखाहरूमा लाग्ने भीडभाड कम गर्न र सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउन एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्ने व्यवस्था गर्न अनुरोध गरेको हो। उक्त पत्रको बोधार्थ डेभलपमेन्ट बैंकर्स संघ नेपाल तथा नेपाल वित्तीय संस्था संघलाई समेत पठाइएको छ।
हाल अधिकांश बैंकका एटीएमबाट ५०० र १,००० रुपैयाँ दरका नोट मात्र वितरण हुँदै आएका छन्। राष्ट्र बैंकका अनुसार ग्राहकहरूबाट एटीएममार्फत १०० रुपैयाँका नोट पनि उपलब्ध हुनुपर्ने माग समय–समयमा उठ्दै आएको छ। केही बैंकहरूसँग गरिएको प्राविधिक छलफलका क्रममा एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्न सम्भव रहेको जानकारी प्राप्त भएपछि यस्तो पहल गरिएको हो।
राष्ट्र बैंकले पत्रमा उल्लेख गरेको छ, “नजिकिँदै गरेको महान् चाड बडादशैंको उपलक्ष्यमा १०० रुपैयाँ दरका नोटहरू पनि एटीएम मेसिनबाट वितरण गर्न सकिएमा साना दरका नोट साट्न आउने ग्राहकहरूको भीड उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ।”
यद्यपि, बैंकिङ क्षेत्रका अधिकारीहरूका अनुसार सबै एटीएममा उक्त व्यवस्था लागू गर्न भने सहज छैन। पुराना मोडलका एटीएम मेसिनहरूमा दुई प्रकारका नोट मात्र राख्न सकिने भएकाले हाल प्रयोगमा रहेका ५०० र १,००० रुपैयाँका नोटसँगै थप १०० रुपैयाँका नोट राख्न सम्भव छैन।
तर नयाँ मोडलका एटीएममा चारवटासम्म नोट क्यासेट राख्न मिल्ने सुविधा भएकाले त्यस्ता मेसिनमा १०० रुपैयाँका नोट पनि वितरण गर्न सकिने बैंकर्सहरूको भनाइ छ। बैंकिङ स्रोतका अनुसार हाल सञ्चालनमा रहेका करिब २५ प्रतिशत एटीएम नयाँ प्रविधिका भएकाले ती मेसिनमार्फत १०० रुपैयाँका नोट उपलब्ध गराउन सकिने सम्भावना रहेको छ।
राष्ट्र बैंकको यो पहल कार्यान्वयनमा आएमा चाडपर्वका बेला साना दरका नोटको माग व्यवस्थापन गर्न सहयोग पुग्नुका साथै सर्वसाधारणले एटीएमबाटै आवश्यक परिमाणमा साना नोट प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।




Comment