add

लकडाउनमा पनि महिन्द्राको ११ ठाउँबाट सर्भिस, कुन कुन ठाँउबाट लिन सकिन्छ हेर्नुहोस






ActPro Nepal

|

५ वैशाख, २०७७

|
927

काठमाडौं। लकडाउनको समयमा आपतकालिन सेवा दिन गुड्ने महिन्द्राका गाडी मर्मतका लागि अग्नि इन्कर्पोरेटेडले ११ वटा सर्भिस सेन्टर संचालनमा ल्याएको छ।

महिन्द्राले उपत्यका भित्र २ र उपत्यका बाहिर ९ वटा गरि ११ ठाउँका सर्भिस सेन्टरबाट आपतकालिन सेवा दिइरहेको छ। लकडाउनको समयमा गुड्ने सवारी साधनमा महिन्द्रा कम्पनीका सवारी साधनको हिस्सा धेरै छ।

एम्बुलेन्स, खाद्यान्न ढुवानी, पानी ढुवानी, सुरक्षाकर्मी र अन्य कुनै पनि सवारी साधनमा समस्या आएमा द्रुत सर्भिस सेवा दिइरहेको बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठले बताए। बालाजु अटो वर्क्स अग्नि समूहको कम्पनी हो।

महिन्द्राले काठमाडौ उपत्यकामा युनिक आइडल अटो मोवाइल्स बालकुमारी र बालाजु अटो वर्क्स बालाजुबाट आपतकालिन सर्भिस सेवा दिइएको छ।

उपत्यका बाहिर चितवन, पोखरा, नेपालगंज, धनगढी, बुटवल, बिर्तामोड, विराटनगर, धरान र लहानमा पनि आपतकालिन सर्भिस सेन्टर खुल्ला गरिएको कम्पनीले जनाएको छ।

आपतकालिन सेवा दिने महिन्द्राका सवारी साधनमा जुनसुकै ठाउँमा समस्या आएपनि नजिकैको सर्भिस सेन्टरका प्राविधिकहरुलाई लिने ल्याउने व्यवस्था गरिदिए कम्पनीले सर्भिस दिने श्रेष्ठ बताउँछन्।

'हाम्रा प्राविधिकहरुसँग पास नभएकाले सवारी धनीलेनै उनीहरुलाई पिकअप गर्नुपर्छ। कुनै ठाउँमा महिन्द्राको सर्भिस सेन्टर रहेनछ भने पनि अन्य कम्पनीका प्राविधिकसँग समन्वय गरेर सामान्य समस्या समाधानका लागि पहल गर्छौ,' उनले भने। कम्पनीले उपत्यकाबाट धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक लगायत नजिकका स्थान सम्म सेवा दिइरहेको छ।

कसरी लिने सेवा?

महिन्द्राका गाडीमा समस्या आएमा सबैभन्दा पहिला सर्भिस सेन्टरको टोल फ्रि नम्बर ९८०१५७१२१२ (एनसेल) र १६६००१००२०० (एनटिसी) मा कल गर्नुपर्छ। त्यसपछि कम्पनीले कुन ठाउँको कुन रुटमा समस्या आएको हो भन्ने यकिन गरेर नजिकै रहेका प्राविधिकहरुलाई सम्पर्क गर्छ।

प्राविधिकहरुलाई पिकअप गरेर लिने र ल्याउने व्यवस्था सवारीधनीले नै गर्नुपर्छ। त्यसपछि कम्पनीले सानो समस्या बिग्रिएकै ठाउँमा गएर समाधान गरिदिन्छ। ठूलो समस्या भएमा भने गाडीलाई सर्भिस सेन्टरमै पुर्‍याउनु पर्छ।

लकडाउनमा गाडीको हेरचाह कसरी गर्ने ?

लामो समय सम्म सवारी पार्क गरेर राख्दा पछि स्टार्ट नहुने समस्या हुन्छ। त्यसका लागि तीन/तीन दिनमा १०/१० मिनेट जति गाडी स्टार्ट गरेर छोड्दा गाडीमा समस्या आउँदैन। गाडी स्टार्ट नगरेमा ब्याट्री खराब भएर समस्या आउँछ। गाडीको ब्याट्री ल्याएर ठूलो भोल्टेजले स्टार्ट गर्दा गाडीमा झनै ठूलो समस्या आउन सक्छ।

ओरालोमा गाडी राखिएको छ भने लामो समयसम्म एउटै पोजिसनमा राख्न हुँदैन। ओरालोमा पार्क गर्दा अनिवार्य रुपमा ब्याक गियरमा राखेर ढुङ्गा/इट्टाको ओट लगाउनुपर्छ।

रुख नजिक पार्क नगर्नुनै बेस हुन्छ। तर पार्क गर्ने ठाउँको अभावमा खुल्ला ठाउँमा वा रुख भएको तल पार्क गर्नुपरेमा कभरले ढाकेर राख्नु पर्छ। विशेषगरि सेतो गाडी छ भने छिट्टै दाग धब्बा आउने हुँदा हप्तै पिच्छे १/१ बाल्टी पानीले स्याम्पुमार्फत सफा गर्नुपर्छ।

चर्को घाममा गाडी राखिएमा रबरका पार्ट्सलाई बचाउन अनिवार्य रुपमा कभरले छोप्नु पर्छ। रुख मुनी पार्क गर्दा चराको सुलीले पनि गाडी खराब हुन्छ। हावाहुरीको सिजन भएकाले ससाना हाँगा खस्दा पनि गाडीमा क्षति पुर्याउन सक्छ।

कहिलेकाही गाडीमा कुहिने सामान राखेर विर्सिएको पनि हुन सक्छ। यस्तो बेलामा लामो समय सम्म गाडी नचलाउँदा सामान दुर्गन्धित भएर गाडीलाईनै असर पार्न सक्छ। त्यही भएर गाडीभित्रका सबै सामान हेरेर मात्रै राख्नु आवश्यक छ।

गाडीमा धेरै इलेक्ट्रिक तार हुन्छन्। लामो समय सम्म गाडी नचल्दा मुसाले काट्ने सम्भावना पनि हुन्छ। त्यसैले लकडाउनमै बेला बेला गाडीको कन्डिसन आफैले चेक गरिरहनु पर्छ।

लकडाउन खुलेपछि पनि एकै पटक गाडी लिएर लामो यात्रामा निस्कन हुँदैन। एकपटक गाडीलाई सानो क्षेत्रमा गुडाएर सबै वायरहरु चेक गर्ने, टायरमा हावाको अवस्था चेक गर्ने र ब्याट्रीमा कुनै समस्या छ छैन भन्ने यकिन गरेर मात्रै यात्रामा निस्कनु पर्छ। त्यसपछि गाडीलाइ नियमित सर्भिस गर्ने ठाउँमा देखाएर यात्रामा जानु उपयुक्त हुन्छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.