काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तिहार र छठ पर्वमा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउने गरी उपत्यकाको सुरक्षा व्यवस्था मिलाइएको छ ।
महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले तिहार र छठमा अपि्रय घटना हुन नदिने गरी उपत्यकाको ट्राफिक व्यवस्था मिलाइएकेा जानकारी दिए ।
कोरोना भाइरसको संक्रमण र जोरा बिजोरको बीच नै चहलपहल बढेपछि नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर ट्राफिक चेकिङमा कडा गर्न लागेको हो ।
दशैँको तुलनामा अहिले भीडभाड बढेसँगै सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको प्रहरीले जनाएको छ । दशैँअघिदेखि नै सुरु भएको एकीकृत सुरक्षा योजना बमोजिम तिहार नजिकिँदै गर्दा सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
तिहारमा मादक पदार्थ सेवन गरेर सवारी चलाउन सक्ने आशंकामा प्रहरीले दिउँसो पनि मापसे चेकिङ गर्ने तयारी थालेको छ । अब दिउँसो पनि शंका लागेमा मापसे चेकिङ गर्ने महाशाखाले तयारी थालेको हो ।
महाशाखाका अनुसार काठमाण्डौ उपत्यकामा मात्रै ७४९ जना जनशक्ति थप गरिएको छ । यस्तै २० वटा चेक प्वाइन्ट थपिएसँगै चेक प्वाइन्टको संख्या ६६ पुगेको छ ।
यस्तै महाशाखाले सिभिलमा ८ वटा टोलीमा ३२ जना ट्राफिक प्रहरी परिचालन गरेको छ । त्यसैगरी बस तथा टिकट काउन्टरमा यात्रुहरु माथि हुने ठगी नियन्त्रण गर्ने सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ।

Comment