काठमाडौं । नेपाली कांग्रेसले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ। अभियानलाई प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउन पार्टीले आवश्यक तयारीसमेत थालेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले प्रेस विज्ञप्ति जारी गर्दै देशव्यापी रूपमा सञ्चालन हुन लागेको अभियानका लागि प्रतिनिधिहरूलाई अभिमुखीकरण गर्न लागिएको जानकारी दिएका हुन्।
विज्ञप्तिअनुसार अभियानमा खटिने प्रतिनिधिहरूलाई उनीहरूको जिम्मेवारी, कार्यदिशा तथा अभियान सञ्चालनसम्बन्धी आवश्यक जानकारी प्रदान गर्न अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको हो।
पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा हुने उक्त कार्यक्रममा काठमाडौं उपत्यकामा उपलब्ध अभियानका सम्पूर्ण प्रतिनिधिलाई मंसिर १३ गते आइतबार बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुन कांग्रेसले आग्रह गरेको छ।
त्यस्तै, काठमाडौं उपत्यकाबाहिर रहेका प्रतिनिधिका लागि जुममार्फत भर्चुअल सहभागिताको व्यवस्था मिलाइएको कार्यवाहक मुख्यसचिव दुलालले जनाएका छन्। सम्बन्धित प्रतिनिधिलाई जुम बैठकको लिङ्क मोबाइल सन्देशमार्फत पठाइने र सोही लिङ्क प्रयोग गरी निर्धारित समयमा कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ।
देशभरका ७५३ वटै स्थानीय तहसम्म पुग्ने लक्ष्यसहित अघि सारिएको ‘हामी तयार छौँ’ अभियानलाई प्रभावकारी, व्यवस्थित र उद्देश्यअनुरूप सञ्चालन गर्न अभिमुखीकरण कार्यक्रम महत्त्वपूर्ण हुने कांग्रेसले विश्वास लिएको छ।




Comment