काठमाडौंको मुटुमा रहेको प्राचीन गौशाला पुनर्निर्माणको शिलान्यास

ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्दै अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, बालाजुस्थित विष्णुमती नदी किनारमा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वको प्राचीन उदासीन विष्णुमती नानक मठ परिसरमा प्राचीन गौशालाको पुनर्निर्माणका लागि शिलान्यास गरिएको छ।

महायोगी श्री ब्रह्महरीदास महाराजको जीवित भू–समाधिस्थलसमेत रहेको उक्त मठ परिसरमा आयोजित शिलान्यास समारोहमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष, गुठी संस्थानका प्रतिनिधि, स्थानीय भद्रभलादमी, भक्तजन तथा धर्मानुरागीहरूको उपस्थिति रहेको थियो। उनीहरूको उपस्थितिमा विधिपूर्वक गौशाला पुनर्निर्माण कार्यको शिलान्यास गरिएको हो।

प्राचीनकालदेखि साधुसन्तको तपस्थलीका रूपमा परिचित यस मठमा गौसेवाको विशेष धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्त्व रहँदै आएको छ। यहाँ प्राचीनकालदेखि नै गाईको संरक्षण तथा सेवा गर्ने परम्परा छ। गाईबाट प्राप्त हुने दूध, दही, घिउ, गोबर र गौमूत्रलगायत पञ्चगव्यलाई धार्मिक अनुष्ठान, पाञ्चायन देवताको अभिषेक तथा स्थानीय बासिन्दाका विभिन्न शुभाशुभ कर्ममा प्रयोग गरिँदै आएको छ।

यस मठमा साधुसन्तको सेवा, धार्मिक अनुष्ठान तथा स्थानीय समुदायको धार्मिक आवश्यकताका लागि गौमातालाई अनिवार्य मानिँदै आएको छ। यही परम्परालाई निरन्तरता दिन प्राचीनकालदेखि नै गौशालाको व्यवस्था गरिएको हो। स्थानीय बासिन्दाहरू दैनिक रूपमा गौमाताको दर्शन गर्न तथा गौसेवामा सहभागी हुन मठमा पुग्ने गर्दछन्।

तर, काठमाडौंको मुख्य सहरी बस्तीको बीचमा रहेको यो ऐतिहासिक गौशाला लामो समयदेखि जीर्ण अवस्थामा थियो। उचित पूर्वाधार र संरक्षणको अभावमा गौशालामा रहेका गाईहरू विभिन्न रोग तथा संक्रमणबाट प्रभावित हुने र प्रत्येक वर्ष केही गाई मर्ने गरेको अवस्था थियो। गौमाताको संरक्षण तथा गौसेवाको प्राचीन परम्परालाई निरन्तरता दिन गौशालाको पुनर्निर्माण आवश्यक देखिएको थियो।

यसै अवस्थालाई मध्यनजर गर्दै मठका महन्त श्री नवलकिशोर दासजी महाराजले गौशालाको संरक्षण तथा पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकासँग आवश्यक बजेट माग गर्नुभएको थियो। महन्तको पहल तथा मागअनुसार काठमाडौं महानगरपालिकाबाट गौशाला पुनर्निर्माणका लागि रु. ७४ लाख ४५ हजार ५६५ रुपैयाँ २५ पैसा (७४,४५,५६५।२५) बजेट विनियोजन गरिएको हो। महानगरपालिकाबाट बजेट सुनिश्चित भएपछि गुठी संस्थानबाट समेत आवश्यक अनुमति प्राप्त गरी पुनर्निर्माण प्रक्रिया अघि बढाइएको थियो। सोही प्रक्रियाअन्तर्गत ऐतिहासिक गौशालाको पुनर्निर्माण कार्यको विधिपूर्वक शिलान्यास गरिएको हो।

रैथाने गाईको संरक्षण र गौसेवाको परम्परालाई निरन्तरता

गौशाला पुनर्निर्माण सम्पन्न भएपछि मठ परिसरमा स्थानीय प्रजातिका रैथाने गाईहरू ल्याएर संरक्षण गर्ने योजना रहेको महन्त श्री नवलकिशोर दासजी महाराजले बताउनुभएको छ।

आजको समयमा रैथाने गाईहरूको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। यस्तो अवस्थामा काठमाडौंको मुटुमा रहेको प्राचीन मठमा स्थानीय प्रजातिका गाईहरूको संरक्षण गरी गौशाला सञ्चालन गर्न सक्नु आफैँमा महत्त्वपूर्ण उपलब्धि हुनेछ। यसबाट स्थानीय बासिन्दाले सहज रूपमा गौमूत्र, गोबर तथा पञ्चगव्य प्राप्त गर्न सक्नेछन्। साथै, नयाँ पुस्ताले समेत रैथाने गाईको महत्त्व, धार्मिक उपयोगिता र संरक्षणको आवश्यकताबारे जानकारी पाउने अवसर प्राप्त गर्नेछ।

गौशाला केवल गाई राख्ने स्थान मात्र नभई धार्मिक आस्था, कृषि संस्कृति, गौसंरक्षण, जैविक मल उत्पादन, वातावरणीय सन्तुलन तथा मानवीय सेवासँग जोडिएको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ।

४१९ वर्ष पुरानो जीवित भू–समाधिस्थलदेखि ७०० वर्ष पुरानो अखण्ड धुनीसम्म

प्राचीन उदासीन विष्णुमती नानक मठको महत्त्व गौशाला र साधुसन्तको आश्रममा मात्र सीमित छैन। यस मठ परिसरमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्त्व बोकेका अनेकौँ सम्पदाहरू रहेका छन्, जसले यस क्षेत्रको मौलिक पहिचानलाई उजागर गर्दछन्।

परम्परागत विवरणअनुसार करिब ४१९ वर्षपूर्व तीन सिद्ध महापुरुषहरूले जीवित भू–समाधि लिनुभएको पवित्र स्थल यस मठको प्रमुख धार्मिक सम्पदामध्ये एक हो। महायोगी श्री ब्रह्महरीदास महाराजको जीवित भू–समाधिस्थल यस मठको ऐतिहासिक तथा आध्यात्मिक गरिमासँग जोडिएको छ।

त्यस्तै, यस मठ परिसरमा नन्दीले तपस्या गरी भगवान् शिवको दर्शन प्राप्त गरेको धार्मिक मान्यता रहेको पवित्र तपस्थली पनि रहेको छ। धार्मिक परम्पराअनुसार नन्दीले कठोर तपस्या र आराधनाबाट भगवान् शिवको अनुग्रह प्राप्त गरी उहाँको प्रिय सेवक तथा वाहन बन्ने सौभाग्य प्राप्त गरेका थिए। नन्दीको तपस्या, भक्ति र समर्पणसँग जोडिएको यस स्थलले मठको धार्मिक महत्त्वलाई थप विशिष्ट बनाएको छ।

मठ परिसरमा प्राचीन गौशाला, तुलसी मठ, नरसिंह, पशुपति, शिव–पार्वती तथा भीमसेनका भगवान्का विग्रह र मन्दिरहरू रहेका छन्। यी देवीदेवताहरू प्राचीनकालदेखि नै यहाँ विराजमान रही नियमित पूजाआजा हुँदै आएको धार्मिक परम्परा छ।

यसका अतिरिक्त परम्परागत मान्यताअनुसार करिब ७०० वर्षदेखि निरन्तर प्रज्वलित रहँदै आएको अखण्ड धुनी यस मठको अर्को महत्त्वपूर्ण आध्यात्मिक सम्पदा हो। मठमा पाञ्चायन देवता तथा वैदिक ग्रन्थको मन्दिरसमेत रहेको छ। उक्त मन्दिरमा बिहान–बेलुका नियमित रूपमा सेवा, पूजा तथा आरती हुने गर्दछ।

वैदिक पाठ, हवन, ध्यान, जप, भजन तथा कीर्तनका माध्यमबाट यस मठले धार्मिक र आध्यात्मिक गतिविधिलाई निरन्तरता दिँदै आएको छ। यहाँको शान्त वातावरणमा ध्यान, पाठ, हवन तथा कीर्तन गर्दा मानसिक शान्ति र आध्यात्मिक आनन्द प्राप्त हुने भक्तजनहरूको अनुभव छ।

नन्दीवन, तपोवन र साधुकुटीसहितको विशिष्ट धार्मिक क्षेत्र

प्राचीन उदासीन विष्णुमती नानक मठको अर्को विशिष्ट पक्ष यस परिसरमा रहेका विभिन्न वन तथा साधनास्थलहरू हुन्। नन्दीवन, तपोवन, शंखवन, साधुकुटी, महन्त वन तथा संगत वनलगायतका स्थानहरूले यस मठलाई धार्मिक तथा आध्यात्मिक दृष्टिले अझ विशिष्ट बनाएका छन्।

यी स्थानहरू साधुसन्तको तपस्या, साधना, ध्यान र धार्मिक गतिविधिसँग जोडिएका छन्। काठमाडौंको अत्यन्त व्यस्त सहरी क्षेत्रभित्र रहेर पनि मठ परिसरमा प्रवेश गर्दा शान्त, प्राकृतिक र आध्यात्मिक वातावरणको अनुभूति गर्न सकिन्छ।

ऐतिहासिक भू–समाधिस्थल, नन्दी तपस्थली, अखण्ड धुनी, प्राचीन मन्दिर, गौशाला तथा विभिन्न वन र साधनास्थलहरूको उपस्थितिले यस मठलाई धार्मिक आस्था र आध्यात्मिक साधनाको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गरेको छ।

धार्मिक तथा आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय सम्भावना

काठमाडौंको मुख्य सहरी क्षेत्रको बीचमा अवस्थित भएर पनि दुर्गम गाउँको जस्तो शान्त र प्राकृतिक वातावरणको अनुभूति गराउने यस मठमा रहेका सम्पदाहरूको उचित संरक्षण, संवर्द्धन र प्रचारप्रसार गर्न सके यो क्षेत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ।

विशेषगरी महायोगी श्री ब्रह्महरीदास महाराजको जीवित भू–समाधिस्थल, नन्दी तपस्थली, ७०० वर्ष पुरानो भनिएको अखण्ड धुनी, प्राचीन गौशाला, तुलसी मठ, पाञ्चायन मन्दिर, विभिन्न देवीदेवताका विग्रह, नन्दीवन, तपोवन, शंखवन, साधुकुटी, महन्त वन तथा संगत वनलाई एकीकृत धार्मिक तथा आध्यात्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्न सकिन्छ।

यसका लागि काठमाडौं महानगरपालिका, वडा कार्यालय, गुठी संस्थान, बागमती प्रदेश सरकार, नेपाल सरकार तथा पुरातत्त्व विभागलगायत सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक देखिन्छ। मठमा रहेका सम्पदाहरूको ऐतिहासिक प्रमाण सङ्कलन, वैज्ञानिक अभिलेखीकरण, प्राचीन संरचनाको संरक्षण, आवश्यक पूर्वाधार निर्माण, धार्मिक अध्ययन तथा अनुसन्धान र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सके यस क्षेत्रले नेपालको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचान विश्वसामु प्रस्तुत गर्न सक्नेछ।

मठका महन्त श्री नवलकिशोर दासजी महाराजको पहलमा गौशाला पुनर्निर्माणको प्रक्रिया अघि बढ्नु यस दिशातर्फको महत्त्वपूर्ण सुरुवातका रूपमा लिइएको छ। उहाँले मठ परिसरमा रहेका सम्पूर्ण ऐतिहासिक, धार्मिक तथा आध्यात्मिक सम्पदाहरूको संरक्षण र विकास गर्दै यस पवित्र स्थललाई साधुसन्तको तपस्थली, गौसेवाको केन्द्र, वैदिक सनातन धर्मको अध्ययन तथा अनुसन्धान केन्द्र र अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीयस्थलका रूपमा स्थापित गर्ने लक्ष्य राख्नुभएको छ।

सम्पदाको संरक्षण नै राष्ट्रको गौरव

काठमाडौं महानगरपालिकाको मुटुमा अवस्थित प्राचीन उदासीन विष्णुमती नानक मठको संरक्षण र विकास एउटा धार्मिक संस्थाको उन्नतिमा मात्र सीमित विषय होइन। यो नेपालको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सम्पदाको संरक्षणसँग जोडिएको महत्त्वपूर्ण राष्ट्रिय दायित्वसमेत हो।

मठ परिसरमा रहेका सम्पदाहरूको उचित संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न सके काठमाडौं महानगरपालिका वडा नं. १६, समग्र महानगरपालिका, बागमती प्रदेश तथा राष्ट्रकै गौरव विश्वभर फैलाउन सकिने सम्भावना रहेको छ।

वर्षौँदेखि जीर्ण अवस्थामा रहेको प्राचीन गौशालाको पुनर्निर्माणका लागि भएको शिलान्यासले गौसंरक्षण, साधुसन्त सेवा, धार्मिक परम्पराको निरन्तरता तथा ऐतिहासिक सम्पदाको संरक्षणमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।

नन्दीको तपस्या, सिद्ध महापुरुषहरूको जीवित भू–समाधि, अखण्ड धुनी, गौसेवा, वैदिक सनातन परम्परा तथा प्राचीन धार्मिक सम्पदाको जीवन्त इतिहास बोकेको यस मठलाई संरक्षण र विकास गर्नु वर्तमानको आवश्यकता मात्र नभई भावी पुस्ताका लागि अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा हस्तान्तरण गर्ने महत्त्वपूर्ण राष्ट्रिय दायित्वसमेत हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।