आँखामा पट्टी बाँधेर धम्की दिँदै चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम सापकोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इनम सापकोटाले आफूलाई आँखामा पट्टी बाँधेर अज्ञात स्थलमा पुर्‍याई मानसिक यातना तथा धम्की दिँदै विभिन्न उच्चपदस्थ व्यक्तिविरुद्ध बयान दिन बाध्य पारिएको आरोप लगाएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगमा दर्ता गराएको निवेदनमा सापकोटाले आफूलाई १४ देखि १५ असोजसम्म आँखामा कालोपट्टी बाँधेर अज्ञात स्थानमा राखिएको र सो अवधिमा विभिन्न विषयमा सोधपुछ गरिएको उल्लेख गरेका छन् ।

उनका अनुसार सोधपुछका क्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर तथा सर्वोच्च अदालतका केही न्यायाधीशविरुद्ध प्रमाण र बयान दिन दबाब दिइएको थियो ।

निवेदनमा आफूले उनीहरूविरुद्ध बयान नदिए आफू मात्र नभई परिवारसमेतलाई गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिइएको उल्लेख छ । आफूलाई लामो समय जेलमा राख्ने गरी झुटा मुद्दा लगाउने, जिउज्यानमा खतरा पुर्‍याउने तथा परिवारलाई समेत दुःख दिने चेतावनी दिएर मानसिक यातना दिइएको सापकोटाको दाबी छ ।

सापकोटाले तीमध्ये केही व्यक्तिसँग आफ्नो राम्रो सम्बन्ध रहेको र केहीलाई आफूले चिन्दै नचिनेको पनि निवेदनमा उल्लेख गरेका छन् ।

उनकी श्रीमती कविता पाण्डेमार्फत आयोगमा दर्ता गरिएको निवेदनमा विमानस्थल क्षेत्रबाट नियन्त्रणमा लिएपछि आँखामा पट्टी बाँधेर अज्ञात स्थलमा लगिएको, जबर्जस्ती बयान गराई हस्ताक्षर गर्न लगाइएको तथा मानसिक यातना दिइएको आरोप लगाइएको छ ।

त्यस्तै, १६ असोजमा प्रहरी भ्यानमा राखेर पानीपोखरीस्थित अपार्टमेन्टमा पुर्‍याई खानतलासी गरिएको र त्यसक्रममा घरमा नभेटिएका विदेशी मुद्रा सुटकेसभित्र रहेको साइड ब्यागबाट निकालेर घरमै फेला परेको भन्दै मुचुल्का तयार गरिएको सापकोटाको आरोप छ ।

सापकोटाका अनुसार प्रहरीले घरका कोठाहरू खानतलासी गर्दा पुरानो ल्यापटप, मोबाइल र केही कागजातबाहेक अन्य सामग्री फेला पार्न सकेको थिएन । त्यसपछि सुटकेसभित्र रहेको विदेशी मुद्रा निकालेर बरामद सामग्रीका रूपमा मुचुल्का तयार गरिएको उनको दाबी छ ।

३० वर्षीय सापकोटा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्पर्कका कारण प्रहरी अनुसन्धानमा तानिएका थिए । गत ११ असोजमा जबरालाई सुरक्षाका लागि भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगेर मोबाइल जाँच गर्दा सापकोटासँग पटक–पटक फोन सम्पर्क भएको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

त्यसपछि १४ असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट प्रहरीले सापकोटालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार सापकोटाको मोबाइलमा मुद्दामामिला अदालतमा मिलाइदिने तथा प्रहरी अधिकारीहरूको बढुवामा सहयोग गर्ने आश्वासन दिएका सन्देशहरू फेला परेका थिए । उनको सम्पर्क सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको आरोपमा थुनामा रहेका दीपक भट्ट, उनका परिवारका सदस्य तथा व्यवसायी सुलभ अग्रवालको समूहसँग पनि देखिएको प्रहरीको भनाइ छ ।

भट्ट र जबराबीच सम्पर्क तथा सूचना आदानप्रदान गराउने माध्यमका रूपमा सापकोटाले भूमिका खेलेको प्रहरी अधिकारीहरूको निष्कर्ष रहेको छ ।

यता, सापकोटाले भने आफूलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखी धम्की र मानसिक यातना दिएर बयान लिन खोजिएको आरोप लगाउँदै राष्ट्रिय मानवअधिकार आयोगसमक्ष आफ्नो तथा परिवारको जीवन रक्षाको माग गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।