नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका सीईओ रेग्मी निर्विरोध चयन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी नेपाल बैंकर्स संघ (एनबीए) को नयाँ अध्यक्ष बन्ने निश्चित भएको छ। संघको आगामी शुक्रबार आयोजना हुने ४०औँ वार्षिक साधारण सभाबाट रेग्मी निर्विरोध अध्यक्ष चयन हुने भएका हुन्।

हाल संघको उपाध्यक्ष रहेका रेग्मीलाई विद्यमान अभ्यासअनुसार अध्यक्षको जिम्मेवारी दिन लागिएको हो। त्यस्तै, रिक्त हुने उपाध्यक्ष पदमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल आउने सहमति भएको छ।

संघसम्बद्ध स्रोतका अनुसार बुधबार भएको अनौपचारिक छलफलबाट पदाधिकारी चयनका विषयमा सर्वसम्मति जुटाइएको हो। राजधानीस्थित होटल मर्क्युरमा हुने साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ।

नेपाल बैंकर्स संघमा विगत १३ वर्षदेखि उपाध्यक्षलाई नै अध्यक्ष बनाउने अभ्यास रहँदै आएको छ। यद्यपि, २०८१ पुसमा सम्पन्न संघको ३८औँ साधारण सभाका क्रममा उक्त परम्परामा चुनौती देखिएको थियो। त्यतिबेला माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचनले अध्यक्ष पदमा दाबी गरेका थिए। पूर्वअध्यक्षहरूको पहल र सर्वसम्मतिको प्रयासपछि शेरचन पछि हटेपछि कोइराला अध्यक्ष र रेग्मी उपाध्यक्ष निर्वाचित भएका थिए।

हाल संघको कार्यसमितिमा अध्यक्ष कोइराला र उपाध्यक्ष रेग्मीसहित कुमारी बैंकका रामचन्द्र खनाल, नबिल बैंकका मनोज ज्ञवाली, नेपाल एसबीआई बैंकका रामकुमार तिवारी, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, एभरेष्ट बैंकका सुदेश खालिङ, नेपाल बैंकका तिलकराज पाण्डे तथा लक्ष्मी सनराइज बैंकका पूर्वसीईओ अजयविक्रम शाह कार्यकारिणी सदस्य छन्।

नयाँ कार्यसमिति गठनसँगै एभरेष्ट बैंकका सुदेश खालिङ र लक्ष्मी सनराइज बैंकका पूर्वसीईओ अजयविक्रम शाह कार्यसमितिबाट बाहिरिने भएका छन्। दुई कार्यकालभन्दा बढी कार्यसमितिमा बस्न नपाउने व्यवस्थाका कारण खालिङ बाहिरिन लागेका हुन्। त्यस्तै, अघिल्लो वर्ष सदस्य बनेका शाह लक्ष्मी सनराइज बैंकमा आफ्नो कार्यकाल पूरा भएसँगै संघको कार्यसमितिबाट अलग हुने भएका छन्।

उनीहरूको स्थानमा सिद्धार्थ बैंकका सीईओ रामेश्वर बस्याल र सानिमा बैंकका सीईओ पवन आचार्य कार्यकारिणी सदस्यका रूपमा आउने तय भएको संघसम्बद्ध स्रोतले जनाएको छ। स्रोतका अनुसार उनीहरू सबैले बुधबार नै मनोनयन दर्ता गराएका छन्।

४०औँ वार्षिक साधारण सभाले नयाँ नेतृत्व र कार्यसमिति चयन गरेसँगै नेपाल बैंकर्स संघले आगामी कार्यकालका लागि नयाँ नेतृत्व पाउनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।