काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। अदालतले यससम्बन्धी कानुनी प्रश्नहरूको निरुपण अन्तिम सुनुवाइका क्रममा गर्ने जनाएको छ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको रिटमाथि सुनुवाइ गर्दै तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो।
मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गते बसेको बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो। सोही बैठकले डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो। केसीले नियुक्ति पाएसँगै सोही दिन प्रहरी संगठनको नेतृत्व सम्हालिसकेका छन्।
सरकारको उक्त निर्णयविरुद्ध कार्कीले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। साथै, अन्तरिम आदेशका सम्बन्धमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो। तर, नयाँ आईजीपी डा. केसीले म्याद बुझेको प्रमाण पेस नभएको भन्दै ७ मंसिरका लागि तोकिएको सुनुवाइ स्थगित गरी ९ मंसिरमा सारिएको थियो।
दुवै पक्षको बहस सुनेपछि सर्वोच्चले नयाँ आईजीपीले कार्यभार सम्हालिसकेको अवस्था तथा शान्ति सुरक्षा र सुविधा सन्तुलनलाई ध्यानमा राख्दै तत्काल अन्तरिम आदेश जारी गर्न आवश्यक नरहेको ठहर गरेको हो।
प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणालीसँग सम्बन्धित विषय संवेदनशील भएकाले निवेदकले उठाएका कानुनी प्रश्नहरूको निरुपण भने अन्तिम सुनुवाइबाटै गरिने अदालतको आदेशमा उल्लेख छ।
यद्यपि, मुद्दाको प्रकृति र प्रहरी संगठनको नेतृत्वसँग जोडिएको संवेदनशीलतालाई दृष्टिगत गर्दै सर्वोच्चले यसको शीघ्र सुनुवाइ गर्न निर्देशन दिएको छ। प्रत्यर्थीहरूबाट लिखित जवाफ प्राप्त भएपछि वा जवाफ पेस गर्ने अवधि समाप्त भएपछि सात दिनभित्रै पूर्ण सुनुवाइका लागि पेसीमा चढाउन आदेश दिइएको छ। साथै, दुवै पक्षलाई पेसी स्थगित गर्न नमिल्ने पूर्वसूचना दिएर नियमानुसार सुनुवाइ गर्न भनिएको छ।
मुद्दामा कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य, डा. दिनमणि पोखरेल, अमर थापा, ललितबहादुर बस्नेत र केदारप्रसाद कोइरालालगायतले बहस गरेका थिए।
त्यस्तै, सरकारका तर्फबाट महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलसहित सरकारी कानुन व्यवसायीहरूले प्रतिरक्षा गरेका थिए। डा. मनोजकुमार केसीका तर्फबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट तथा अन्य अधिवक्ताहरू र प्रहरी प्रधान कार्यालयका तर्फबाट अधिवक्ता करुणाकर मल्लिकले बहस गरेका थिए।




Comment