काठमाडौं । नेपालमा मासुजन्य प्रयोजनका लागि ढुवानी गरिने राँगा, भैँसी, बाख्रा तथा कुखुरालाई क्षमताभन्दा बढी कोचेर, पानी, दाना र आरामको उचित व्यवस्था नगरी लामो दूरीसम्म ओसारपसार गर्ने गरिएको पाइएको छ।
नेपाल पशु कल्याण तथा वातावरण समाज (नावेस्) ले ‘वी एनिमल्स क्यानडा’को सहयोगमा गरेको स्थलगत अध्ययन तथा अवलोकनका क्रममा पशु ढुवानी गर्दा आधारभूत मापदण्डसमेत पालना नभएको जनाएको छ।
संस्थाका अनुसार कैलाली, टीकापुर र अत्तरियाबाट काठमाडौंसम्म राँगा–भैँसी ल्याउन ४८ देखि ७२ घण्टासम्म लाग्ने गरेको छ। तर, लामो समयसम्मको ढुवानीका क्रममा कतिपय पशुलाई पर्याप्त पानी, दाना र आरामको व्यवस्था नगर्ने गरिएको अध्ययनका क्रममा पाइएको छ।
संस्थाका निर्देशक हरि जोशीका अनुसार एउटै ट्रकमा क्षमताभन्दा बढी पशु कोचेर राख्ने, असुरक्षित तरिकाले बाँध्ने तथा बाख्रा र कुखुरालाई पर्याप्त हावा आवतजावत नहुने स्थानमा राखेर ओसारपसार गर्ने गरिएको छ। कतिपय अवस्थामा बसको छत तथा ढिकीमा समेत बाख्रा ढुवानी गर्ने गरिएको उनले बताए।
काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक जोशीले पशु व्यापार र मासु व्यवसायको विरोध नभई ढुवानीका क्रममा जनावरमाथि हुने अमानवीय व्यवहार रोक्नुपर्नेमा जोड दिए।
उनले पशु ढुवानीका लागि विशेष सवारीसाधन प्रयोग गर्न, लामो दूरीका मार्गमा विश्रामस्थल स्थापना गर्न तथा ढुवानीका क्रममा पानी, दाना र आवश्यक उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरे। साथै, व्यवसायीलाई पशु ढुवानीका लागि विशेष सवारीसाधन खरिद तथा सञ्चालनमा सहुलियत र राजस्व छुट उपलब्ध गराउनुपर्ने सुझावसमेत दिए।
नावेस्ले पशु सेवा विभाग, क्वारेन्टाइन कार्यालय, ट्राफिक प्रहरी तथा व्यवसायीबीच समन्वय र सहकार्य बढाउँदै विद्यमान पशु ढुवानीसम्बन्धी मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।




Comment