सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो, आज पनि उच्च गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर ठूलो गिरावट आएको छ। पछिल्लो केही दिनदेखि घटिरहेको सुनको भाउ आज एकैदिन प्रतितोला १२ हजार २ सय रुपैयाँले घटेको छ। यससँगै सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले घटेर २ लाख ५७ हजार ६ सय रुपैयाँ कायम भएको थियो। त्यसअघि गत कात्तिक २३ गते प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य त्यसयता ३८ हजार ९ सय रुपैयाँले घटिसकेको छ।

यसअघि गत कात्तिक १७ गते पनि सुनको मूल्य एकैदिन प्रतितोला १२ हजार ६ सय रुपैयाँले घटेको थियो। त्यस्तै, कात्तिक २९ गते १ हजार ५ सय रुपैयाँ, ३० गते १ हजार १ सय रुपैयाँ, मंसिर १ गते १ हजार ९ सय रुपैयाँ र २ गते ६ हजार ३ सय रुपैयाँले सुनको मूल्य घटेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। आज चाँदीको मूल्य प्रतितोला २ सय २५ रुपैयाँले घटेर ३ हजार १ सय १० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

यसअघि गत माघ १५ गते सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै उच्च हो।

त्यस्तै, गत माघ १८ गते चाँदीको मूल्य एकैदिन प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट पनि हालसम्मकै उच्च दैनिक गिरावटका रूपमा रहेको छ। यसअघि गत माघ १५ गते चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।