काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज श्रद्धा, भक्ति र आस्थाका साथ हरिबोधिनी एकादशी पर्व मनाउँदै छन्। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने यस पर्वलाई वर्षभरिमा पर्ने २४ वटा एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण मानिन्छ। सामान्य बोलीचालीमा यसलाई ‘ठूलो एकादशी’ पनि भनिन्छ।
धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु कार्तिक शुक्ल एकादशीका दिन जागा हुनुहुन्छ। त्यसैले आषाढ शुक्ल एकादशीलाई हरिशयनी र कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ। भगवान् विष्णुको उपासनाका लागि विशेष मानिने यस दिन भक्तजनले व्रत बसेर पूजा–आराधना गर्ने परम्परा छ।
भविष्योत्तर पुराणमा अन्य एकादशीको तुलनामा हरिबोधिनी एकादशीका दिन गरिने भगवान् विष्णुको उपासना विशेष फलदायी हुने उल्लेख गरिएको धार्मिक विश्वास छ। यस दिन बिहानै स्नान गरी शुद्ध भएर व्रत बस्ने, भगवान् विष्णुको पूजा गर्ने तथा भजनकीर्तन गर्ने गरिन्छ।
हरिबोधिनी एकादशीका अवसरमा नेपालका विभिन्न धार्मिक स्थलमा विशेष मेला लाग्ने गर्दछ। सुनसरीको बराहक्षेत्र, काठमाडौंको बूढानीलकण्ठ तथा काठमाडौं उपत्यकाका चार दिशामा अवस्थित चार नारायण मन्दिर—चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारायण र शेषनारायणमा भक्तजनको विशेष घुइँचो लाग्ने गर्दछ।
महाभारतमा उल्लेख भएअनुसार पाण्डवमध्येका भीमसेनले समेत यस दिन व्रत बसेका थिए। भीमसेनी एकादशीका रूपमा समेत परिचित यस पर्वमा अन्य दिन व्रत बस्न नसक्नेहरूले पनि श्रद्धापूर्वक व्रत गर्ने धार्मिक परम्परा रहिआएको छ।
हरिबोधिनी एकादशीको अर्को महत्वपूर्ण पक्ष तुलसी विवाह हो। आषाढ शुक्ल एकादशीका दिन घरघरमा रोपिएको तुलसीलाई यस दिन विशेष रूपमा सजाएर पूजा गरिन्छ। धार्मिक परम्पराअनुसार तुलसीको विवाह भगवान् विष्णुको प्रतीक शालिग्रामसँग गराइन्छ। यस अवसरमा तुलसी मठ सजाउने, विवाहका विधि पूरा गर्ने र भजनकीर्तन गर्ने चलन छ।
त्यसैगरी, हरिबोधिनी एकादशीको भोलिपल्ट द्वादशीका दिन तुलसीको विशेष पूजा गरी चतुर्मास अवधिमा गरिँदै आएको पूजाको समापन गरिन्छ।
यस दिन भगवान् विष्णुलाई सखरखण्ड, पिँडालु, फलफूललगायतका कन्दमूल चढाउने र प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ। हिन्दू धार्मिक मान्यताअनुसार तुलसी, पीपल, दुबो र शालिग्रामलाई भगवान् विष्णुसँग सम्बन्धित पवित्र प्रतीकका रूपमा पूजा गरिन्छ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको हरिबोधिनी एकादशीले नेपाली समाजमा आस्था, परम्परा र धार्मिक सहिष्णुताको महत्वलाई थप उजागर गर्दै आएको छ।




Comment