शिक्षा सुधारका लागि रोका परिवारद्वारा १६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँस्थित श्री दिपशिखा माध्यमिक विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका मुक्तिप्रसाद रोका परिवारले १६ लाख ६६ हजार ६६६ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ।

विद्यालयमा आयोजित शैक्षिक एवं धार्मिक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा रोका परिवारले संयुक्त रूपमा उक्त रकम दान गर्नुभएको हो।

मंगला गाउँपालिका–१, तुसारपानी स्थायी घर भई हाल अष्ट्रेलियामा व्यवसाय गर्दै आउनुभएका मुक्तिप्रसाद रोका, उहाँकी श्रीमती टीकामाया रोका, छोरा समीर रोका र छोरी सृष्टि रोकाले विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले सहयोग गर्नुभएको हो।

महायज्ञमा सहभागी हुन बुधबार कुहुँ पुग्नुभएका रोकालाई स्थानीयवासीले बाजागाजा तथा भजनकीर्तनसहित स्वागत गर्दै महायज्ञस्थलमा पुर्‍याएका थिए। स्थानीयवासीले उहाँको सामाजिक योगदानको प्रशंसा गर्दै सम्मानसमेत गरेका थिए।

लामो समयदेखि अष्ट्रेलियामा व्यवसाय गर्दै आउनुभएका रोका विदेशमा समस्यामा परेका नेपालीलाई सहयोग गर्नुका साथै आफ्नो जन्मभूमि म्याग्दीको शिक्षा, स्वास्थ्य, खानेपानी तथा विकास निर्माणका क्षेत्रमा निरन्तर सहयोग गर्दै आउनुभएको छ।

त्यसैगरी, म्याग्दीको खेलकुद क्षेत्रको विकासमा पनि उहाँको उल्लेखनीय योगदान रहँदै आएको छ। खेलमैदान निर्माण, खेलाडी प्रोत्साहन तथा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालनका लागि उहाँले आर्थिक सहयोग गर्दै आउनुभएको छ।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, स्मार्ट प्रविधिमैत्री तथा व्यावहारिक शिक्षाको प्रवर्द्धन र भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो।

विदेशमा रहेर पनि जन्मभूमिको विकास र सामाजिक सेवामा निरन्तर योगदान पुर्‍याउँदै आएको रोका परिवारको सहयोगले विद्यालयको शैक्षिक सुधार अभियानमा थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ।

रोका परिवारको उदार सहयोगप्रति विद्यालय परिवार तथा महायज्ञ मूल समारोह समितिले आभार व्यक्त गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।