साइबर ठगी नियन्त्रण गर्न राष्ट्र बैंकको निर्देशन : २४ सै घण्टा उपलब्ध हुने सम्पर्क अधिकृत तोक्नुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो समय बढ्दै गएको अनलाइन तथा वित्तीय साइबर ठगी नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई २४ सै घण्टा उपलब्ध हुने गरी सम्पर्क अधिकृत तोक्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै विकास बैंक, वित्त कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरूलाई यस्तो निर्देशन दिएको हो ।

नेपाल सरकार, गृह मन्त्रालयको निर्णयअनुसार स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको स्थापना र कार्य सञ्चालन सम्बन्धी दिग्दर्शन’ बमोजिम नेपाल प्रहरीको साइबर ब्युरोसँग समन्वय र सहकार्य गर्न सम्पर्क अधिकृत तोक्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

उक्त केन्द्रमा वाणिज्य बैंकहरू, ई–सेवा र खल्ती भौतिक रूपमै समन्वयमा रहने भएकाले तीबाहेकका विकास बैंक, वित्त कम्पनी तथा अन्य भुक्तानी सेवा प्रदायकहरूलाई सम्पर्क अधिकृत तोक्न निर्देशन दिइएको हो ।

राष्ट्र बैंकले सम्बन्धित संस्थाहरूलाई साइबर अपराध अनुसन्धान तथा तत्काल प्रतिकार्यका लागि २४ सै घण्टा उपलब्ध हुन सक्ने सम्पर्क अधिकृतको नाम, थर, फोन नम्बर र कार्यालयको इमेल ठेगाना विभागको आधिकारिक इमेलमार्फत तत्काल उपलब्ध गराउन भनेको छ ।

डिजिटल भुक्तानी प्रणालीको विस्तारसँगै अनलाइन ठगी, बैंक खाता ह्याकिङ तथा अवैध रूपमा रकम ओसारपसार गर्ने घटनाहरू बढ्दै गएका छन् । यस्ता घटनामा तत्काल अनुसन्धान र कारबाही गर्न तथा पीडितको रकम रोक्का र फिर्ता गर्ने प्रक्रियालाई सहज बनाउन प्रहरी र वित्तीय क्षेत्रबीच समन्वय संयन्त्र विकास गरिएको हो ।

यस व्यवस्थाले साइबर ठगीका घटनामा सम्बन्धित वित्तीय संस्थासँग तत्काल सम्पर्क स्थापित गरी अनुसन्धान र प्रतिकार्य प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।