नेपाल प्रहरीको नयाँ आईजीपीमा डा. मनोज केसी नियुक्त,यस्तो छ उनको विगत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदमुक्त गर्दै केसीलाई नेपाल प्रहरीको सर्वोच्च नेतृत्व सुम्पने निर्णय गरेको हो । पदमुक्त गरिएका कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त आईजीपी केसी नेपाल प्रहरीभित्र व्यावसायिक, निडर र अपराध अनुसन्धानमा दक्ष अधिकारीका रूपमा परिचित छन् । विशेषगरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको संगठित ठगी प्रकरणको अनुसन्धानलाई उच्च राजनीतिक नेतृत्वसम्म पुर्‍याएपछि उनी राष्ट्रिय चर्चामा आएका थिए ।

केसीको २८ वर्षे प्रहरी सेवाको सबैभन्दा चर्चित उपलब्धिका रूपमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई लिइन्छ । २०७९ पुस २८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेपछि उनले लामो समयदेखि थन्किएका उजुरीका आधारमा गोप्य रूपमा अनुसन्धान अघि बढाएका थिए ।

२०७९ चैत १२ गते उनले गिरोहका मुख्य अभियुक्त केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई पक्राउ गरेका थिए । उनीहरूको बयान र डिजिटल प्रमाणका आधारमा अनुसन्धान तत्कालीन गृहसचिव टेकनारायण पाण्डे हुँदै तत्कालीन गृहमन्त्री बालकृष्ण खाणसम्म पुगेको थियो ।

२०८० वैशाख २७ गते केसीकै नेतृत्वमा खटिएको प्रहरी टोलीले तत्कालीन सांसद तथा पूर्वगृहमन्त्री खाणलाई उनकै निवासबाट पक्राउ गरेको थियो । शक्तिशाली राजनीतिक नेतृत्वसमेत अनुसन्धानको दायरामा आएपछि केसी चर्चामा आएका थिए ।

शरणार्थी प्रकरणका फरार अभियुक्त प्रतीक थापा र बिचौलिया बेचन झा पक्राउ परेपछि विशेष ब्युरोमा कार्यरत केसीलाई दुई महिनामै त्यहाँबाट हटाइएको थियो । त्यसपछि उनलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान हुँदै प्रदेश समन्वय विभागमा सरुवा गरिएको थियो ।

२०५४ चैत १८ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका केसी पूर्वआईजीपी दानबहादुर कार्कीकै ब्याचका अधिकारी हुन् । २०८२ वैशाखमा एआईजीमा बढुवा भएका उनी त्यतिबेलै आईजीपीका प्रमुख दाबेदार थिए । तर, तत्कालीन सरकारले वरीयतामा अगाडि रहेका कार्कीलाई प्रहरी प्रमुख बनाएको थियो ।

केसीले जिल्ला प्रहरी कार्यालय मोरङ र रूपन्देहीको नेतृत्वसमेत सम्हालिसकेका छन् । २०८२ असोज ५ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको जिम्मेवारी पाएका उनले बैंकिङ कसुर, क्रिप्टोकरेन्सी, बिमा ठगी, दूरसञ्चार कम्पनीका शंकास्पद कारोबार तथा नक्कली उद्धारका नाममा हुने अन्तर्राष्ट्रिय ठगीलगायत संगठित अपराधको अनुसन्धान अघि बढाएका थिए । त्यसपछि उनी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए ।

प्रहरी सेवासँगै शैक्षिक क्षेत्रमा पनि केसीको बलियो पृष्ठभूमि छ । उनले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र/मानवशास्त्र र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका उनले कम्बोडियाबाट व्यावहारिक द्वन्द्व रूपान्तरणमा पनि स्नातकोत्तर गरेका छन् ।

नेपाल प्रहरी कर्मचारी कलेजका संस्थापक निर्देशकसमेत रहेका केसीले प्रहरी विज्ञानमा स्नातकोत्तर तहको पाठ्यक्रम निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनका ‘इन्हान्सिङ पुलिसिङ इन नेपाल’ तथा संगठित अपराध नियन्त्रणसम्बन्धी अनुसन्धानमूलक पुस्तकसमेत प्रकाशित छन् ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र हाइटीमा सेवा गरिसकेका केसी नेपाली, अंग्रेजी, फ्रान्सेली र स्पेनी भाषामा दख्खल राख्छन् ।

अपराध अनुसन्धानमा व्यावसायिक छवि बनाएका केसीका लागि अब नेपाल प्रहरीको नेतृत्व चुनौतीपूर्ण रहनेछ । प्रहरी संगठनभित्रको आन्तरिक सुधार, राजनीतिक हस्तक्षेपमुक्त प्रहरी प्रशासन, अनुसन्धानको निष्पक्षता, सुशासन र नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउनु उनका प्रमुख चुनौती हुनेछन् ।

उच्च राजनीतिक तहसम्म पुगेका संवेदनशील अपराधको अनुसन्धानमा देखाएको सक्रियतालाई संगठनको समग्र नेतृत्वमा पनि कायम राख्दै प्रहरीलाई थप व्यावसायिक, निष्पक्ष र जनउत्तरदायी बनाउने जिम्मेवारी अब नवनियुक्त आईजीपी डा. केसीको काँधमा आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।