काठमाडौं । बतास अर्गनाइजेशनअन्तर्गत सञ्चालित बतास ट्रयाक्टरको व्यापार २० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२५ को तुलनामा सन् २०२६ मा २० प्रतिशतले घटेर ४८ करोड ५० लाख रुपैयाँमा सीमित भएको हो ।
कम्पनीले सन् २०२५ मा ६० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२४ मा ३० करोड ५० लाख रुपैयाँ, सन् २०२३ मा २६ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा ७६ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीको कुल व्यापारमध्ये ७९ प्रतिशत हिस्सा क्याट (CAT) ब्रान्डका स्काभेटरको रहेको छ । त्यसमध्ये पनि एउटा मात्रै मोडलको स्काभेटरबाट कुल व्यापारको ५८ प्रतिशत आम्दानी हुने गरेको कम्पनीले जनाएको छ । यसले कम्पनीको आम्दानी सीमित उत्पादनमा निर्भर रहेको देखाउँछ ।
कम्पनीको पुँजीगत संरचना उच्च ऋणमा आधारित रहेको छ । कम्पनीको गियरिङ अनुपात ३ गुणा रहेको छ भने कुल ऋण र सञ्चालन मुनाफाको अनुपात १८ गुणा रहेको छ ।
सन् २०१६ मा दर्ता भएको बतास ट्रयाक्टर नेपालका लागि क्याटरपिलर निर्माण उपकरण, गोदरेज इक्विपमेन्ट र प्रोपेल ब्रान्डका सामग्रीको आधिकारिक वितरक हो । कम्पनीले सन् २०१७ देखि क्याट सामग्रीको कारोबार सुरु गरेको थियो । त्यस्तै, सन् २०१८ देखि गोदरेज इक्विपमेन्ट र सन् २०२० देखि प्रोपेल ब्रान्डका सामग्रीको व्यापार सुरु गरेको हो ।
कम्पनीमा पाँच जनाको स्वामित्व रहेको छ । जसमध्ये बतास परिवारको ६७ प्रतिशत हिस्सा रहेको छ । कम्पनीमा आनन्दराज बतास र शान्तराज बतासको समेत स्वामित्व रहेको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल १ अर्ब ९ करोड ५० लाख रुपैयाँ बराबरको क्रेडिट रेटिङ गराएको छ । जसअनुसार दीर्घकालीन कर्जाका लागि ६९ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४० करोड ३० लाख रुपैयाँको रेटिङ गराइएको छ ।




Comment