काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीको विधि, विधान र स्थापित प्रक्रिया अनुसार नै १५औँ महाधिवेशन सम्पन्न गर्ने जनाएको छ ।
मंगलबार काठमाडौंको चूनदेवीस्थित देउवा समूहको सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समूहले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुने महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेता डा. प्रकाशशरण महतले महाधिवेशनले पार्टीको मूल मान्यता, विचार, विधि र सञ्चालन पद्धतिको पक्षमा उभिने अठोट लिएको बताए । आधिकारिकताको दाबी गर्ने पक्षसँग मात्रै कांग्रेसको आत्मा नहुने उल्लेख गर्दै उनले वैचारिक र वैधानिक दुवै दृष्टिकोणबाट गगन थापा पक्ष सही ठाउँमा नरहेको आरोप लगाए ।
महतले हालसम्म २६ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको र चार जिल्लामा अधिवेशनको उद्घाटन भएको जानकारी दिए । त्यस्तै, ६१८ पालिका, २२८ प्रदेशसभा निर्वाचन क्षेत्र र ११४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको उनले बताए ।
आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनको उद्घाटन पार्टीका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने पनि महतले जानकारी दिए ।
‘नियमित महाधिवेशनका लागि छोटो समयमा प्रक्रिया अघि बढाएका थियौँ । तर, कार्यकर्ताको सक्रियता र उत्साहपूर्ण सहभागिता पाएका छौँ । देशभरका कार्यकर्ताहरू स्वतःस्फूर्त रूपमा र स्वयंसेवी भावनाले सहभागी भइरहनुभएको छ । हामी उत्साहित छौँ,’ उनले भने ।
महाधिवेशन प्रक्रियामा सहभागी सबै नेता तथा कार्यकर्ता न्याय, विधि र कांग्रेसको मूल मान्यताको पक्षमा उभिएको उनको दाबी थियो ।
विशेष महाधिवेशनमा सहभागी भएका धेरै नेता तथा कार्यकर्ता आफ्नो समूहमा जोडिन थालेको उल्लेख गर्दै महतले उनीहरू जोडिने क्रम अझै जारी रहेको बताए ।




Comment