माछापुच्छ्रे बैंकको नाफा ३१.८७ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो ५५ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ३१.८७ प्रतिशतले वृद्धि गरेको छ।

बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको थियो।

बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानीमा भएको सुधार र कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम घट्नु मुख्य कारण देखिएका छन्। बैंकको इम्पेयरमेन्ट चार्ज ५४.१६ प्रतिशतले घटेर २१ करोड १२ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम ४६ करोड ८ लाख ७४ हजार रुपैयाँ थियो।

त्यस्तै, बैंकको सञ्चालन मुनाफा ४३.७५ प्रतिशतले बढेर ८६ करोड २ लाख ५३ हजार रुपैयाँ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी पनि १५.६० प्रतिशतले वृद्धि भई १ अर्ब ६८ करोड ६५ लाख २५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी १ अर्ब ४५ करोड ८९ लाख ४८ हजार रुपैयाँ थियो।

यद्यपि, गैरब्याज आम्दानीतर्फ खुद फि तथा कमिसन आम्दानी ४.३५ प्रतिशतले घटेर ४३ करोड ८५ लाख ६९ हजार रुपैयाँमा झरेको छ। यस अवधिमा खुद ट्रेडिङ आम्दानी भने ५२.८८ प्रतिशतले बढेर १२ करोड ८ लाख रुपैयाँ पुगेको छ।

व्यवसाय विस्तारतर्फ पनि बैंकले प्रगति गरेको छ। गत असार मसान्तको तुलनामा बैंकको ग्राहक निक्षेप ३.५७ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड २० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा प्रवाह ५.४७ प्रतिशतले वृद्धि भई १ खर्ब ७२ अर्ब ६४ करोड ९९ लाख रुपैयाँ पुगेको छ।

बैंकको कर्जाको गुणस्तरमा समेत सुधार देखिएको छ। कुल निष्क्रिय कर्जा (एनपीएल) अनुपात ४.१३ प्रतिशतबाट घटेर ३.९७ प्रतिशतमा झरेको छ। खुद निष्क्रिय कर्जा अनुपात पनि १.२३ प्रतिशतबाट घटेर १.०४ प्रतिशत कायम भएको छ। कर्जा नोक्सानी व्यवस्थापन कभरेज भने बढेर १०६.४३ प्रतिशत पुगेको छ।

यसैगरी, बैंकको कोषको लागत ४.०३ प्रतिशतबाट घटेर ३.१४ प्रतिशत र आधार दर ५.८१ प्रतिशतबाट घटेर ४.९२ प्रतिशतमा आएको छ। बैंकको औसत ब्याजदर अन्तर (स्प्रेड दर) ३.४१ प्रतिशत कायम भएको छ। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७७.९३ प्रतिशत रहेको छ।

नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा १३ रुपैयाँ ४३ पैसा रहेको वार्षिकीकृत ईपीएस चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर १७ रुपैयाँ ७१ पैसा पुगेको छ। त्यस्तै, वार्षिकीकृत पुँजीमा प्रतिफल (आरओई) ९.६२ प्रतिशत र सम्पत्तिमा प्रतिफल (आरओए) ०.८५ प्रतिशत पुगेको छ।

बैंकको चुक्ता पुँजी १५ अर्ब ४४ करोड ८७ लाख रुपैयाँ रहेको छ। त्यस्तै, जगेडा कोषमा ७ अर्ब ९० करोड १० लाख रुपैयाँ रहेको बैंकले जनाएको छ। असोज मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ११ करोड २१ लाख रुपैयाँ रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।