काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्नो अभिव्यक्तिलाई सन्दर्भबाट अलग गरेर सामाजिक सञ्जालमा भिडियो तथा तस्बिर सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका छन्।
जेनजी आन्दोलनदेखि नै सामाजिक सञ्जालमा आलोचनाको निशानामा पर्दै आएका गिरीलाई केही प्रयोगकर्ताले ‘खराने ग्याङ’को नेता भन्दै टिप्पणी गर्ने गरेका छन्। पछिल्लो समय चलचित्र ‘छ माया छपक्कै २’ को नौ दिनको बक्स अफिस रिपोर्ट सार्वजनिक भएपछि उनीमाथिको आलोचना थप चर्किएको हो।
चलचित्रले बक्स अफिसमा अपेक्षाअनुसारको नतिजा हासिल गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा गिरीका पुराना अभिव्यक्तिका क्लिपहरू काटेर विभिन्न भिडियो सार्वजनिक भइरहेका छन्। चलचित्र बहिष्कार गर्नुपर्ने आशयका सामग्रीसमेत भाइरल बनाइएको बताइएको छ।
यही विषयलाई लिएर गिरीले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन्। उनले कसैलाई लखेट्ने, पिट्ने वा भगाउने कार्य उचित नभएको उल्लेख गर्दै असहमति भए बौद्धिकताका आधारमा जवाफ दिनुपर्ने धारणा राखेका छन्।
आफ्ना अभिव्यक्तिलाई सम्पादन गरेर केही अतिवादी कार्यकर्ताले गलत मनसायका साथ भिडियो तथा तस्बिर सार्वजनिक गरेको उनको आरोप छ। आफ्नो भनाइलाई मूल सन्दर्भबाट अलग गरेर प्रस्तुत गरिएको भन्दै उनले आपत्ति जनाएका हुन्।
सामाजिक सञ्जालमा चलचित्रको व्यापारिक प्रदर्शन र कलाकारका पुराना अभिव्यक्तिलाई जोडेर बहस भइरहेका बेला गिरीको पछिल्लो प्रतिक्रियाले यस विषयलाई थप चर्चामा ल्याएको छ।




Comment