नुप्चे लिखु हाइड्रोको निर्माण ९७% पूरा, कुल लागत ११ अर्ब ९२ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले निर्माण गरिरहेको ५७.५ मेगावाट क्षमताको नुप्चे लिखु जलविद्युत आयोजनाको वित्तीय प्रगति करिब ९७ प्रतिशत पुगेको छ । यद्यपि, सामाजिक समस्या र पहिरोका कारण आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य भने पुनः संशोधन गरिएको छ ।

आयोजनाको कुल संशोधित लागत करिब ११ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत करिब २० करोड ७० लाख रुपैयाँ अनुमान गरिएको यस आयोजनाका लागि आवश्यक कुल इक्विटीको शतप्रतिशत अर्थात् करिब ३ अर्ब ३२ करोड रुपैयाँ प्रवर्द्धकहरूबाट जुटिसकेको छ । त्यस्तै, आयोजनाका लागि ८ अर्ब ६० करोड रुपैयाँ ऋणसमेत व्यवस्थापन भइसकेको छ ।

आयोजनामा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) को १५ प्रतिशत सेयर स्वामित्व रहेको छ । यसबाहेक अवसर इक्विटी डाइभर्सिफाइड फन्ड र नेशनल इक्विटी फन्डलगायत संस्थागत लगानीकर्ताको पनि सहभागिता रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग भएको ३० वर्षे विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार आयोजनाको कुल ऊर्जा उत्पादनमा करिब ३७ प्रतिशत हिस्सा सुख्खायामको रहनेछ । उत्पादित विद्युत् रामेछापस्थित प्रस्तावित गज्र्याङ सबस्टेसनको १३२ केभी स्विचयार्डमा जोडिनेछ । यसका लागि करिब ३० किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिनेछ । सबस्टेसनमार्फत विद्युत् प्रसारण हुने व्यवस्थाले प्रसारणसम्बन्धी जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नुप्चे खोला र लिखु खोलाको पानी उपयोग गरी निर्माण भइरहेको आयोजनाको क्याचमेन्ट क्षेत्र १५० वर्ग किलोमिटर रहेको छ । आयोजनाको डिजाइन डिस्चार्ज ७.११ घनमिटर प्रतिसेकेन्ड छ । आयोजनाबाट वार्षिक कुल १३९.७६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । जसमध्ये ३६.६१ प्रतिशत सुख्खायाममा र ६३.२९ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ ।

आयोजनास्थलसम्म पुग्न काठमाडौं–मन्थली १३१ किलोमिटर अलवेदर सडक प्रयोग गर्न सकिन्छ । मन्थलीदेखि गुम्देलको क्यामासम्म करिब ११० किलोमिटर ढुंगा छापिएको तथा माटोको कच्ची सडक रहेको छ । त्यस्तै, हेडवर्क्स र पावरहाउस क्षेत्रसम्म पुग्न करिब ३४ किलोमिटर आयोजना सडक निर्माण गरिएको छ ।

निर्माण सम्पन्न गर्ने लक्ष्य पुनः संशोधन

आयोजनाको निर्माण सम्पन्न गर्ने समयसीमा सामाजिक समस्या तथा पहिरोका कारण प्रभावित भएको छ । यसअघि मध्यअप्रिल २०२६ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा संशोधन गरी मध्यअक्टोबर २०२६ पुर्‍याइएको छ । तर, क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार आयोजना मध्यअप्रिल २०२७ सम्ममा सम्पन्न हुन सक्ने अनुमान गरिएको छ ।

आयोजनाको निर्धारित व्यावसायिक उत्पादन मिति (आरसीओडी) फेब्रुअरी १५, २०२६ मै समाप्त भइसकेको छ । यस अवस्थामा व्यवस्थापनले ‘फोर्स मेजर’ अर्थात् आफ्नो नियन्त्रणबाहिरका परिस्थितिलाई आधार बनाएर समयसीमा थप गर्न निवेदन दिने तयारी गरेको छ । उक्त निवेदन स्वीकृत हुने वा नहुने विषयले महसुल वृद्धि तथा सम्भावित जरिवानामा प्रत्यक्ष प्रभाव पार्न सक्नेछ ।

त्यस्तै, विद्युत् खरिद सम्झौतामा रहेको १० प्रतिशत रिजर्भ मार्जिनसम्बन्धी व्यवस्था, सुख्खायाममा न्यून ऊर्जा आपूर्ति हुँदा लाग्न सक्ने कडा दण्ड तथा जरिवाना र जलवायु एवं भूगर्भीय जोखिम आयोजनाका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

आगामी दिनमा निर्धारित लागतभित्र आयोजना सम्पन्न गर्ने क्षमता, निर्माणमा हुने थप ढिलाइ तथा बजारको ब्याजदरमा आउने उतारचढावले कम्पनीको वित्तीय अवस्थालाई प्रभाव पार्ने देखिन्छ ।

इक्रा नेपालको रेटिङ यथावत्

यसैबीच, क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नुप्चे लिखु जलविद्युत आयोजनासम्बन्धी कम्पनीको क्रेडिट रेटिङ पुनरावलोकन गर्दै साविकको रेटिङ यथावत् राखेको छ ।

कम्पनीको दीर्घकालीन कर्जा सीमाका लागि साविकको ७ अर्ब ९३ करोड रुपैयाँबाट बढाएर ८ अर्ब ६० करोड ४० लाख रुपैयाँ पुर्‍याइएको छ । उक्त कर्जा सीमामा एलबीबीप्लस रेटिङ कायम गरिएको छ । त्यस्तै, ३ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जा सीमाका लागि एफोरप्लस रेटिङ पुनःपुष्टि गरिएको छ ।

यससँगै कम्पनीको कुल रेटिङ कर्जा सीमा ८ अर्ब ६३ करोड ९० लाख रुपैयाँ पुगेको छ । आयोजनाको वित्तीय प्रगति उल्लेख्य रहे पनि निर्माण सम्पन्न गर्ने समयसीमा, लागत व्यवस्थापन, प्रसारण पूर्वाधार र जलविद्युत उत्पादनसम्बन्धी जोखिम आगामी दिनमा कम्पनीको वित्तीय प्रदर्शनका लागि महत्त्वपूर्ण हुने देखिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।