काठमाडौं । बायोमेड इन्टरनेसनलको व्यापार गत आर्थिक वर्षमा २१ प्रतिशतले बढेको छ। सन् २०२५ मा ८० करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको कारोबार गत आर्थिक वर्षमा बढेर ९७ करोड ६० लाख रुपैयाँ पुगेको हो।
कम्पनीको कारोबार पछिल्ला वर्षमा उतारचढावपूर्ण देखिएको छ। सन् २०२१ मा ८८ करोड ४० लाख रुपैयाँ कारोबार गरेको कम्पनीको व्यापार सन् २०२२ मा बढेर ९० करोड ४० लाख रुपैयाँ पुगेको थियो। त्यसपछि सन् २०२३ मा कारोबार घटेर ६४ करोड ८० लाख र सन् २०२४ मा ५८ करोड ८० लाख रुपैयाँमा सीमित भएको थियो।
तर, सन् २०२५ देखि कम्पनीको कारोबारमा सुधार देखिएको छ। उक्त वर्ष कम्पनीको व्यापार ३७ प्रतिशतले बढेर ८० करोड ४० लाख रुपैयाँ पुगेको थियो। गत आर्थिक वर्षमा समेत कारोबार बढ्दै ९७ करोड ६० लाख रुपैयाँ पुगेको हो।
कारोबारमा सुधार आए पनि कम्पनीको पुँजीगत संरचना भने उच्च ऋणभारमा रहेको छ। कम्पनीको बाह्य दायित्व तथा सञ्चालन मार्जिन ३ गुणा रहेको छ। सन् २०२५ मा यस्तो अनुपात ५ गुणा थियो। त्यस्तै, कम्पनीको ऋण सेवा कभरेज अनुपात २.५ गुणा रहेको छ।
सन् २००४ मा स्थापना भएको बायोमेड इन्टरनेसनलले विभिन्न प्रकारका औषधि तथा स्वास्थ्यसम्बन्धी सामग्री आयात गरी बजारीकरण र वितरण गर्दै आएको छ। कम्पनीले सर्जिकल टुल्स, अफ्थाल्मिक तथा न्यूरोलोजिकल उत्पादन, मेडिकल इमेजिङ उपकरणलगायत सामग्रीको कारोबार गर्दै आएको छ।
कम्पनीले जर्मनी, चीन, भारतलगायत विभिन्न देशबाट औषधि तथा स्वास्थ्यसम्बन्धी सामग्री आयात गर्ने गरेको छ। औषधिको बिक्री तथा वितरणसँगै कम्पनीले अस्पतालको फोहोर व्यवस्थापन र लेआउट डिजाइनिङसम्बन्धी सेवा पनि प्रदान गर्दै आएको छ।
बायोमेड इन्टरनेसनलमा उमेशकुमार अग्रवाल र चेतन अग्रवालको बराबर स्वामित्व रहेको छ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ६९ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ। जसअनुसार १३ करोड ५० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एलबीबी प्लस र ५६ करोड २० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ प्राप्त गरेको छ।




Comment