काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने पहिलो विदेशी वायुसेवाका रूपमा फ्लाई दुबईले सेवा सुरु गर्ने भएको छ। वायुसेवाले बुधबारदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सञ्चालन गर्न लागेको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको नियमित उडानले नेपालको पर्यटन प्रवर्द्धनसँगै अन्तर्राष्ट्रिय हवाई बजारमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
वायुसेवाले सार्वजनिक गरेको उडान तालिकाअनुसार फ्लाई दुबईको विमान हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ।
फ्लाई दुबईले पोखरामा १६० देखि १७० सिट क्षमताका एयरबस ए३१९ वा ए३२० जहाज प्रयोग गर्ने तयारी गरेको महाप्रबन्धक निरौलाले जानकारी दिए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि सिचुआन एयरलाइन्सले चार्टर उडान तथा हिमालयन एयरलाइन्सले सातामा एकपटक चार्टर उडान सञ्चालन गरेका थिए। तर, व्यावसायिक लाभ पर्याप्त नभएको भन्दै ती उडान लामो समय निरन्तर हुन सकेनन्।
पछिल्लो करिब एक वर्षदेखि नियमित अन्तर्राष्ट्रिय उडानविहीन रहेको पोखरा विमानस्थलबाट अब दैनिक उडान सञ्चालन हुने भएपछि पोखराका पर्यटन व्यवसायी, स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा जाने यात्रुले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ।
फ्लाई दुबईमार्फत दुबईलाई ट्रान्जिट बनाएर १२० भन्दा बढी मुलुकमा कनेक्टिङ उडान लिन सकिने भएकाले वैदेशिक रोजगारीमा जाने नेपाली, अमेरिका, क्यानडा, बेलायतलगायत देशमा आवतजावत गर्ने यात्रु तथा पर्यटकका लागि पोखराबाट हुने अन्तर्राष्ट्रिय उडान उपयोगी हुने वायुसेवाको विश्वास छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा आकर्षित गर्न सरकारले विभिन्न प्रकारका शुल्कमा छुट तथा सहुलियत दिएको छ।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने वायुसेवाका लागि २०८५ साल भदौ मसान्तसम्म उडान तथा अवतरणसँग सम्बन्धित विभिन्न शुल्कमा छुट दिने व्यवस्था गरिएको छ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तुलनामा पोखरामा ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा शतप्रतिशत छुट तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
यसका साथै नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डले लिने विभिन्न शुल्कमा समेत छुट दिइएको छ। ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने नेपाल वायुसेवा निगम तथा हवाई इन्धन उपलब्ध गराउने नेपाल आयल निगमबाट समेत सहुलियतको व्यवस्था गरिएको छ।
सरकारले यसअघि २०८१ साउन २८ गते गरेको निर्णयअनुसार तीन वर्षसम्म ग्राउन्ड ह्यान्डलिङमा २५ प्रतिशतबाहेक अन्य शुल्क नलिने व्यवस्था गरेको थियो। उक्त निर्णयको अवधि सकिएपछि सरकारले पुनः दुई वर्षका लागि छुटको अवधि थप गरेको हो।
पोखरामा न्यारोबडी विमान सञ्चालन गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने शुल्कमा प्रतिउडान करिब ४ हजार अमेरिकी डलर बराबर तथा नेपाल वायुसेवा निगमले लिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा करिब ५ हजार ५ सय अमेरिकी डलरमा ५० प्रतिशत छुट उपलब्ध हुने बताइएको छ।
यी छुटलाई जोड्दा विदेशी वायुसेवाले प्रतिउडान ७ लाख रुपैयाँभन्दा बढी बराबरको सहुलियत पाउने अवस्था रहेको छ।
त्यसैगरी, अन्तर्राष्ट्रिय यात्रुको हवाई टिकटमा लाग्ने प्रतियात्रु ३ हजार रुपैयाँको यात्रु सेवा शुल्कसमेत पोखरा र भैरहवा विमानस्थलका लागि छुट गरिएको छ।
ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा पूर्ण छुट तथा अन्य शुल्कमा दिइएको सहुलियतका कारण काठमाडौंको तुलनामा पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्दा वायुसेवाको सञ्चालन लागत कम हुने अवस्था बनेको छ।
नेपाल पर्यटन बोर्डले लिने प्रतियात्रु १ हजार रुपैयाँको पर्यटन सेवा शुल्कमा समेत पोखरा र भैरहवाका लागि पूर्ण छुट दिइएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने विदेशी वायुसेवालाई हवाई इन्धनमा समेत काठमाडौंको तुलनामा सहुलियत उपलब्ध छ।
नेपाल आयल निगमका अनुसार हाल अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौंमा प्रतिलिटर १.६९७ अमेरिकी डलर हुँदा पोखरामा १.२७५ डलर र भैरहवामा १.२६० डलर रहेको छ।
यसअनुसार काठमाडौंको तुलनामा पोखरामा प्रतिकिलोलिटर हवाई इन्धनमा करिब ४२२ अमेरिकी डलर कम लागत पर्छ। वर्तमान विनिमय दरअनुसार यो करिब ६४ हजार रुपैयाँ बराबरको सहुलियत हो।
सरकारले विभिन्न शुल्क तथा इन्धनमा दिएको सहुलियतसँगै फ्लाई दुबईको दैनिक उडान सुरु भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको नियमितता बढ्ने अपेक्षा गरिएको छ।




Comment