रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुस्ताङ । रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको विनाशकारी बाढीको प्रभाव हिमाली जिल्ला मुस्ताङको पर्यटन क्षेत्रमा समेत परेको देखिएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकअनुसार साउनको तुलनामा भदौमा मुस्ताङ घुम्न आउने पर्यटकको संख्या झण्डै आधाले घटेको छ।

साउन महिनामा ६१ हजार २६३ पर्यटकले मुस्ताङ भ्रमण गरेकोमा भदौमा यो संख्या घटेर ३१ हजार ९८९ मा सीमित भएको छ। अर्थात् एक महिनाको अवधिमै २९ हजार २७४ जना पर्यटक घटेका छन्।

प्रहरीको तथ्यांकअनुसार साउनको तुलनामा भदौमा पर्यटक आगमन ४७.७८ प्रतिशतले घटेको हो।

मुस्ताङ प्रवेश गर्ने मुख्य मार्ग कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक बाढी, पहिरो र नदी कटानका कारण साउनमै पटक–पटक अवरुद्ध भएको थियो। त्यसका बाबजुद साउनमा पर्यटक आगमन उल्लेख्य रहेको थियो। तर भदौ १० गते रसुवामा आएको विपद्पछि मुस्ताङमा पर्यटक आगमनमा थप गिरावट देखिएको प्रहरीको तथ्यांकले देखाएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङअन्तर्गत म्याग्दी–मुस्ताङ सीमा क्षेत्रको घाँसा प्रहरी चौकीको तथ्यांकअनुसार साउनमा ३० हजार ६५५ जना आन्तरिक पर्यटक मुस्ताङ पुगेका थिए। भदौमा यो संख्या घटेर १६ हजार ५०३ मा झरेको छ।

त्यस्तै, साउनमा ३१ हजार ५७५ जना सार्क राष्ट्रका पर्यटक मुस्ताङ पुगेका थिए। भदौमा भने सार्क पर्यटकको संख्या १५ हजार १३८ मा सीमित भएको छ।

यसअनुसार साउनको तुलनामा भदौमा आन्तरिक पर्यटक १४ हजार १५२ जना अर्थात् ४६.१६ प्रतिशत र सार्क राष्ट्रका पर्यटक १६ हजार ४३७ जना अर्थात् ५२.०५ प्रतिशत ले घटेका छन्।

आन्तरिक तथा सार्क राष्ट्रका पर्यटकको आगमन घटिरहेका बेला अन्य मुलुकबाट आउने पर्यटकको संख्या भने भदौमा बढेको छ।

साउनमा अन्य राष्ट्रका १९३ जना पर्यटक मुस्ताङ पुगेका थिए। भदौमा यो संख्या बढेर ३४८ जना पुगेको छ। अर्थात् एक महिनामा अन्य राष्ट्रका पर्यटक १५५ जना बढेका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले रसुवा बाढीपछि मुलुकभर परेको मनोवैज्ञानिक तथा सामाजिक प्रभावका कारण पनि मुस्ताङमा पर्यटक आगमन घटेको हुनसक्ने बताएका छन्।

चालु आर्थिक वर्षको साउन र भदौमा गरी मुस्ताङमा ९३ हजार २५२ जना आन्तरिक तथा बाह्य पर्यटक पुगेका छन्।

जसमध्ये ४७ हजार १५८ जना आन्तरिक, ४६ हजार ७१३ जना सार्क राष्ट्रका र ४४१ जना अन्य राष्ट्रका पर्यटक रहेको प्रहरीको तथ्यांक छ।

यद्यपि अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन–भदौमा पर्यटक आगमन समग्रमा बढेको देखिन्छ। गत आर्थिक वर्ष २०८२/८३ को साउनमा १९ हजार ७८१ र भदौमा २३ हजार २०५ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए।

यस वर्ष साउनमा मात्रै ६१ हजारभन्दा बढी पर्यटक पुगे पनि भदौमा भने आगमनमा ठूलो गिरावट आएको तथ्यांकले देखाएको छ। यसले मुस्ताङको पर्यटनमा सडक पूर्वाधारसँगै मुलुकका अन्य क्षेत्रमा हुने प्राकृतिक विपद्को प्रभावसमेत प्रत्यक्ष पर्न सक्ने देखाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।