काठमाडौं । नेपालबाट अस्कर अवार्डका लागि सिफारिस भएको चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ ले भोटेकोसी बाढीपीडितको सहयोगार्थ फ्रान्समा विशेष च्यारिटी स्क्रिनिङ गर्ने भएको छ।
कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा जुरी पुरस्कार जितेको चलचित्रले आफ्नो अन्तर्राष्ट्रिय यात्राका क्रममा नेपालप्रति ऐक्यबद्धता जनाउँदै पेरिसमा विशेष प्रदर्शन गर्न लागेको हो।
चलचित्रको फ्रान्सेली रिलिज आगामी २३ सेप्टेम्बरबाट हुँदैछ। त्यसअघि १७ सेप्टेम्बरमा पेरिसस्थित यूजीसी लेस हल्समा विशेष प्रिभ्यू स्क्रिनिङ आयोजना गरिनेछ। उक्त प्रदर्शनमा निर्देशक अविनाश विक्रम शाह स्वयं उपस्थित हुनेछन्।
‘नेपालसँगको ऐक्यबद्धता’ अभियानअन्तर्गत आयोजना हुने विशेष प्रदर्शनबाट फ्रान्सेली वितरकलाई प्राप्त आम्दानी नेपालमा बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा प्रदान गरिने जनाइएको छ। कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूतको समेत उपस्थिति रहनेछ।
‘हामी जहाँबाट सक्छौँ, त्यहीँबाट एकजुट भएर सहयोग गर्ने अभियानमा छौँ,’ निर्देशक शाहले भने, ‘पेरिसबाट पनि हामी चलचित्र स्क्रिनिङ गरेर भोटेकोसी बाढी प्रभावितलाई सहयोग गर्दै छौँ।’
चलचित्रका निर्माता प्रचण्डमान श्रेष्ठ र मुख्य अभिनेत्री पुष्पा थिङ नुवाकोटका हुन्। हालैको बाढीबाट श्रेष्ठको घरसमेत प्रभावित भएको थियो।
यसअघि चलचित्रको टोलीले नेपालमा पनि बाढीपीडितको सहयोगार्थ काठमाडौंमा विशेष प्रदर्शन आयोजना गरेको थियो। भदौ १७ गते गरिएको उक्त प्रदर्शनबाट संकलित सम्पूर्ण रकम बाढीपीडितको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप कोषमा प्रदान गरिएको थियो।
अविनाश विक्रम शाह निर्देशित चलचित्र अहिले नेपालमा प्रदर्शनरत छ। चलचित्रले दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।
जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथालाई केन्द्रमा राखिएको चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय छ।
नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा चलचित्र निर्माण गरिएको हो।




Comment