त्रिशूलीको पीडा, सम्झना र आशा बोकेको साहस शाक्यको ‘मेरो त्रिशूली’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिशूली बाढी तथा प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, क्षति र बिछोडसँगै त्रिशूली नदीसँग जोडिएका बाल्यकालदेखिका सम्झना र भावनालाई समेटेर सङ्गीतकर्मी साहस शाक्यले नयाँ गीत ‘मेरो त्रिशूली’ सार्वजनिक गरेका छन्।

प्राकृतिक विपत्तिले छाडेको पीडा र त्यसबाट सिर्जिएको मानवीय क्षतिलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको गीतमा दुःखसँगै पुनःउठ्ने साहस र आशाको सन्देशसमेत समेटिएको छ। ‘फेरि त्रिशूली हाँस्नेछ’ भन्ने भावमार्फत विपत्तिपछि पनि जीवन र सम्भावनाको आशा जीवित रहने सन्देश गीतले दिन खोजेको छ।

नुवाकोटमा जन्मिएका शाक्यको बाल्यकालदेखि युवावस्थासम्मको समय नुवाकोटमै बितेको हो। उनको साङ्गीतिक यात्राको सुरुवात र प्रारम्भिक सङ्घर्षसमेत नुवाकोटबाटै भएको थियो। यही कारण त्रिशूलीसँग उनको सम्बन्ध एउटा नदी वा गीतको विषयमा मात्र सीमित छैन। त्रिशूली उनका बाल्यकालका सम्झना, हुर्काइ, सङ्घर्ष र जीवनका अनेक अनुभूतिसँग जोडिएको छ।

त्यही आत्मीय सम्बन्धलाई गीतमा उतार्ने प्रयास गरिएको शाक्य बताउँछन्। त्रिशूलीसँग जोडिएका पुराना सम्झना र प्राकृतिक विपत्तिले निम्त्याएको पीडालाई एउटै भावनात्मक कथामा जोड्दै उनले ‘मेरो त्रिशूली’ तयार गरेका हुन्।

दुई दशकभन्दा बढी समयदेखि नेपाली सङ्गीत क्षेत्रमा सक्रिय शाक्य विशेषगरी सङ्गीत संयोजकका रूपमा परिचित छन्। उनले हालसम्म करिब २ हजार ५ सयभन्दा बढी गीतमा सङ्गीत संयोजन गरिसकेका छन्। नेपाली आधुनिक, पप, लोकलगायत विभिन्न विधाका गीतमा सङ्गीत संयोजन गर्दै आएका शाक्य चलचित्र सङ्गीत तथा पार्श्व सङ्गीतमा समेत सक्रिय छन्।

तर ‘मेरो त्रिशूली’ उनका लागि अन्य सिर्जनाभन्दा केही फरक र व्यक्तिगत अनुभूतिसँग नजिक रहेको गीत हो। यसमा शब्द, सङ्गीत, सङ्गीत संयोजन, स्वर तथा ध्वनि मिश्रण र ध्वनि परिष्करणसमेत शाक्यकै रहेको छ।

गीतको स्टुडियो तथा प्रकाशन संस्था सुदेश्ना मनोरञ्जन रहेको छ। गीतको दृश्य छायाङ्कन अनन्त अयालले गरेका छन् भने दृश्य सम्पादन बिरेन्द्र भाट र बिपिनले गरेका छन्।

त्रिशूलीसँग जोडिएको आत्मीयता, प्राकृतिक विपत्तिको पीडा, बिछोडको अनुभूति र पुनःउठ्ने आशालाई सङ्गीतमार्फत अभिव्यक्त गरिएको ‘मेरो त्रिशूली’ साहस शाक्यको आधिकारिक युट्युब माध्यममार्फत सार्वजनिक गरिएको हो।

गीतले त्रिशूलीको विगतका सम्झना मात्र होइन, विपत्तिले थिलथिलो बनाएको जीवन फेरि सामान्य बन्ने र ‘फेरि त्रिशूली हाँस्नेछ’ भन्ने आशावादी भावनालाई समेत केन्द्रमा राखेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।