असोज १ देखि काठमाडौंमा ‘नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी’ आयोजना हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंमा ‘सिजी प्रोपर्टिज नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आयोजना हुने भएको छ ।

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नारा सहित भृकुटीमण्डपमा सुरक्षित, सुव्यवस्थित तथा वैज्ञानिक बस्ती विकास गरी दिगो शहरीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना हुने लागेको आयोजकले जनाएको छ । नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा प्रदर्शनी हुने भएको हो ।

प्रदर्शनी व्यवस्थापन ‘सिया इभेन्ट एसोसिएट्स प्रा. लि.’ ले गरिरहेको छ। मेलाको मुख्य प्रायोजक (टाइटल स्पोन्सर) ‘सिजी प्रोपर्टिज/सिजी होल्डिंग्स’, पावर्ड बाइ ‘एशियन पेन्टस्‌’, र इन्स्योरेन्स पार्टनर ‘प्रभु इन्स्योरेन्स’ रहेका छन्। सहयोगी संस्थाका रूपमा स्मार्ट पानी, केबी र युएचएस होल्डिंग्स रहेका छन् ।

सन् २००९ देखि प्रदर्शनी सञ्चालन हुँदै आएको छ । प्रदर्शनीमा नेपालका विभिन्न भूभाग तथा छिमेकी राष्ट्र भारतका समेत गरी १०० भन्दा बढी प्रदर्शनी स्टलहरू रहने र शतप्रतिशत बुकिङ भइसकेको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा संयुक्त आवास (अपार्टमेन्ट), जग्गा विकास आयोजना, आधुनिक निर्माण सामग्री (सिमेन्ट, स्टिल, काठ, सिसा), पेन्टस्, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्भेस्टिङ तथा फोहोर व्यवस्थापनका आधुनिक प्रविधिहरू प्रदर्शन हुनेछ ।

वातावरणमैत्री प्रदर्शनीको अभ्यास गर्दै यस पटक डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क र भर्चुअल रियालिटी प्रविधिको प्रयोगमार्फत मेलालाई ‘पेपरलेस’ बनाइने आषेजकले जनाएको छ ।

प्रदर्शनीमा भूकम्प–प्रतिरोधी घर निर्माण तथा वास्तुशास्त्रसम्बन्धी निःशुल्क विज्ञ परामर्श उपलब्ध हुनेछ । साथै रक्तदान कार्यक्रम, ओम हस्पिटल र ग्राण्डी इन्टरनेशनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर तथा रसुवाका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य उपचार प्याकेजको व्यवस्था गरिएको छ ।

यसैगरी मेला अवधिभर नीति निर्माता, निजी क्षेत्रका प्रतिनिधि तथा प्राविधिक विज्ञहरूबिच जलवायु परिवर्तन, विपद्–प्रतिरोधी पूर्वाधार र सार्वजनिक–निजी साझेदारीका विषयमा प्यानल छलफल सञ्चालन हुनेछ । नयाँ युवा उद्यमीहरूलाई लक्षित गरी निःशुल्क तालिम तथा परामर्शको समेत व्यवस्था मिलाइएको छ।

हाल बैंकिङ क्षेत्रमा तरलता सहज रहेको र ब्याजदर घट्दो क्रममा रहेको अवस्थामा उपभोक्तालाई सुलभ मूल्यमा घरघडेरी चयन गर्न र सुरक्षित लगानीका अवसर खोज्न यो मेला उपयुक्त साझा मञ्च बन्ने विश्वास लिएको आयोजकले जनाएको छ ।

चार दिनसम्म चल्ने यस एक्स्पोमा ६५ हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अनुमान गरिएको जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।